आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

काठमाण्डौ – आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।

आज काठमाण्डौको हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गरिँदैछ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारा, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो छ । यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती शिक्षा, ज्ञान र सङ्गीतकी देवीको प्रतीक रहेको बताउनुभएको छ  । वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा वसन्तपञ्चमीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार