दार्चुलामा नेपाल टेलिकमका ८ वटा टावरहरु टुजीसेवाबाट संञ्चालनमा रहेका छन । जिल्लाका विभिन्न ठाउँमा अझैपनि ८ वटा टावरहरु टुजी सेवाबाट संञ्चालनमा रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति गर्न तथा नागरीकहरुलाई संञ्चारपहुच सम्म पुगाउनका लागि हाल जिल्लाका ८वटा ठाउँमा टुजी सेवा संञ्चालनमा ल्याएको टेलिकम दार्चुलाले जनाएको छ ।
जसअन्तरर्गत जिल्लाको नौगाड गाउँपालिकामा पर्ने खार,महाकाली नगरपालिकाको धौउकोट, महाकाली नगरपालिकाको दत्तु, नौगाड गाउँपालिकाको होपरीगाडमा टुजी सेवाको टावर निर्माण सम्पन्न गरी सेवा प्रबाह भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनु भएको छ ।
यस्तै व्यासँ गाउँपालिकाको धौलाकोट, व्यासँ गाउँपालिकाकै तिंकर,मालिकार्जुन गाउँपालिकाको डाडाकोट र लेकम गाउँपालिकाको लालीमा समेत हाल टुजी सेवा विस्तार गरिएको उहाँले बताउनु भयो । जिल्लामा हाल सम्म जम्मा ३९ वटा टावर निर्माण कार्य सम्पन्न भएका छन ।
चालु आर्थिक वर्षमा जिल्लाभरी ४ वटा टावरहरु निर्माण कार्य सम्पन्न भएर संञ्चालनमा आएका छन । तिंकर, डाडाकोट लाली र सुण्डमुण्ड क्षेत्रमा टावर निर्माण गरिएपछि सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।
३९ वटा टावर मध्ये महाकाली नगरपालिकाको वडा ६ निसिलमा मात्रै थ्रीजी’ सेवा शुरु गरिएको छ । अन्य ३० वटा टावरहरु टुजी र फोरजीदुबै संञ्चालनमा रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनु भयो । जिल्लामा निर्माण भएका टेलिकमका कतिपय टावरहरुमा अझैपनि विद्युतीकरण हुन बाकी रहेको छ ।
जिल्लाको अपि हिमाल गाउँपालिका वडा ४ मा पर्ने खण्डेश्वरी, नौगाड गाउँपालिका वडा २ खार, अपि हिमाल गाउँपालिकाको वडा ३ पाथा, अपि हिमालकै वडा ६ सितोला, व्यासँ गाउँपालिकाको वडा १ छाङरु, वडा २ राप्लाका टावरसम्म विद्युतीकरण हुन बाकी रहेको टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनु भयो । यि मध्ये अधिकाश टावरहरु सोलारको भरमा संञ्चालनमा रहेको उहाँले बताउनु भयो । तत्काल यि टावरहरु सम्म विद्युतीकरण हुने सम्भावना न्युन रहेको बताइएको छ ।
टेलिकमले जिल्लाका अन्य विभिन्न ठाउँमा नयाँ टावर निर्माणका लागि सर्वेको काम समेत अगाडी बढाएको जनाएको छ । जसमध्ये शैल्यशिखर नगरपालिका वडा ९ मा पर्ने सैनबन, मालिकार्जुन गाउँपालिकाको खोलीचौरा, मालिकार्जुनकै रेबली, मालिकार्जुनकै चैतलीचौरा, लगायतका ठाउँमा जग्गादाताहरु संग सम्झौता नगरी प्राविधिक टोलीले सर्वेको काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
निकट भविष्यमै यि ठाउँहरुमा समेत टावर निर्माण हुने टेलिकम दार्चुलाले जनाएको छ । विशेष गरी अझै पनि जिल्लाको हिमाली स्थानीय तहका नागरीकहरुले टेलिकमको टावरले काम नगरेपछि सास्ती खेप्ने गरेका छन । अपि हिमाल गाउँपालिका व्यासँ गाउँपालिका मार्मा दुहुँ र नौगाड गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुलाई नेटवर्कका लागि घामलाइ नै पर्खिनु पर्ने बाध्यता कामयमै रहेको छ ।
नेपाल टेलिकमले भने भौगोगिक समस्या देखाउदै लामो समयसम्म विद्युत आपूर्ती हुन नसक्दामात्र सेवा प्रवाह नभएको जनाएको छ । टावर सञ्चालनमा आउन नसकेपनि स्थानीय सरकारले कुनै पहल गर्न समेत नसकेको त्यहाँका स्थानीयले गुनासो गदैँ आएका छन । वर्षैदेखि टेलिफोन सेवा लिन नपाएका त्यहाँका स्थानीयले टावर हेरेर बस्नुको बिकल्प नरहेको गुनासो गरेका छन ।