काठमाण्डौ । चीनले गएको सोमवार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको भन्दै नेपालले पनि प्रतिक्रिया जनाएको छ ।
भारतलगायत केही देशले विरोध जनाउने गरी उत्तरी छिमेकीले ‘प्रचलित नक्सा’ जारी गरेको चार दिनपछि नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न भनेको छ । परराष्ट्र मन्त्रालयले केहीबेर अघि निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ । यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ ।’ आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कुटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनले जारी गरेको नयाँ नक्सामा नेपालले सन् २०२० मा संविधान संशोधन गरेर थप गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतमै देखाइएको छ । नेपालले आफ्नो दाबी गरेको यो क्षेत्र भारतको नियन्त्रणमा छ ।
यसैबीच नेकपा ९माओवादी केन्द्र० का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नक्साको विषयमा छलफल हुने बताउनुभयो ।