काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रातृसंगठन नबनाउने निर्णय गरेको छ । उसले अन्य पार्टीको जस्तो खर्च हुने गरी कार्यकर्ता पनि नपाल्ने भएको छ ।
चर्को चर्को नारा दिएर अन्य पार्टी र तठस्थ मत लिएर लोकप्रियता कमाउने उसको नीति छ । त्यसैले रास्वपाले एक वर्षअघि पार्टी स्थापना हुँदा बसुन्धारामा साँघुरो किसिमको घर भाडामा लिएको थियो ।
जहाँ जस्तापाताले छाएको हलमा रास्वपाले पत्रकार सम्मेलन गथ्र्यो । संसदीय दल र केन्द्रीय समितिको बैठक बस्थ्यो । तर यो एक वर्षमा रास्वपाले ठूलो छलाङ मारेको छ । उसँग अहिले २१ प्रतिनिधिसभा सदस्य छन् ।
त्यसैले अब उसलाई ठूलो भवन र फराकिलो भएको पार्टी कार्यालय आवश्यक देखियो । सोही कारण रास्वपाले बालाजुमा भव्य र आकर्षक पाँच तले भवन भाडामा लिएर बिहीबारदेखि केन्द्रीय कार्यालय त्यहाँ सार्दैछ ।
उसको पार्टी कार्यालय भवन अन्य दलको भन्दा भव्य देखिएको छ । रास्वपाको पार्टी कार्यालय भवन कांग्रेस, एमाले, माओवादीको भन्दा पनि भव्य रहेको छ ।
रास्वपाले पार्टीको झन्डाकै रंग कार्यालयमा पनि लगाएको छ । बालाजुमा रहेको डा। भरतमणि देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक तीन लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।
यसका आधारमा रास्वपाले वर्षको ४२ लाख रुपैयाँ घरभाडा मात्रै तिर्नुपर्ने हुनछ । मुकुल प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताए।
उनका अनुसार अब सर्न लागिएको पाँच तले भवनमा केन्द्रीय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा बिहीबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजनासमेत गर्न लागेको छ। रास्वपाले सदस्यता वितरणबाट मात्रै २० करोड आम्दानी गरेको छ ।
उसले हालसम्म दुई लाख सदस्यता पुगेको जनाएको छ । एक हजारको दरले दुई लाख सदस्यबाट २० करोड जम्मा हुन्छ । त्यसैले रास्वपा अबको केही समयमै देशकै सबैभन्दा धनी पार्टीमा रुपान्तरित हुने निश्चित छ ।
किनभने पार्टीका कार्यालय जिल्ला र प्रदेशमा नराख्ने भएकाले उसको खर्च खासै हुँदैन । सदस्यता वितरणबाट आएको पैसा सबै बचत हुन्छ ।