बालविवाह न्यूनीकरणका लागि वक्तृत्वकला

दार्चलामा बालविवाह न्यूनीनकरणका लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको सहयोग तथा दार्चुला विकास संगठनको आयोजनामा वक्तृत्कला प्रतियोगिता सञ्चालन गरिएको हो
महाकाली नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता गरिएको छ । शुक्रवार जिल्ला सदरमुकाम खलंगास्थितका महेन्द्र नमूना माध्यमिक विद्यालय खलंगा र छन्ना तिंकरी कन्या माविका कक्षा ९ र १० का विद्यार्थीलाई सहभागी गराई वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको दार्चुला विकास संगठनका कार्यक्रम संयोजक नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
बालविवाह नियन्त्रणमा स्थानीय सरकारको भूमिका विषयमा विद्यार्थीहरुमाझ वक्तृत्वकला आयोजना गरिएको उनले बताए । वक्तृत्वकला प्रतियोगितामा छन्ना तिंकरी कन्या माविबाट १३ जनाले सहभागिता जनाएका थिए भने महेन्द्र नमुना माविबाट १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
पछिल्लो समय माध्यमिक कक्षा पढ्ने विद्यार्थीहरुको नै विवाह हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना जगाउन विद्यालयमा कार्यक्रम गर्न लागिएको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले बताइन् । विद्यार्थी माझ गरिने यस्ता कार्यक्रमले बालविवाह नियन्त्रणमा सघाउ पुर्याउने अपेक्षा लिएको उनले बताए ।
वक्तृत्वकला प्रतियोगिताका लागि नगरपालिकाका चार ओटा विद्यालय छनौट गरी कार्यक्रम गरिदैछ । महाकाली नगरपालिका अन्तर्गतका मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप र राष्ट्रिय मावि दत्तुमा आगामी शुक्रबार प्रतियोगिता हुँदैछ ।
विद्यालयमा गरिएको प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएका चार वटै विद्यालयका विद्यार्थीलाई पुनः पालिकास्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गराई छनौट गरिने बताइएको छ ।
प्रतियोगितामा प्रथम स्थान गर्ने विद्यार्थीलाई तीन हजार ५ सय नगद, दोस्रो स्थान गर्ने विद्यार्थीलाई दुई हजार ५ सय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई एक हजार ५ सय तथा सान्तवना स्वरुप एक हजार रुपैयाँ नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार