दार्चुला । बालबालिकाका समस्या, अधिकार र भविष्यसँग जोडिएका सवालमा स्थानीयस्तरमै संवाद तथा समाधान खोज्ने उद्देश्यले मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १, २ र ४ मा वडास्तरीय बालकचहरी कार्यक्रम सम्पन्न भएको छ।

गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा सञ्चालित अवसर परियोजनाअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा बालबालिका, जनप्रतिनिधि र सरोकारवालाबीच बालअधिकार, बालविवाह रोकथाम, बालश्रम न्यूनीकरण तथा शिक्षा निरन्तरताका विषयमा त्रिपक्षीय संवाद गरिएको थियो।

‘बालअधिकार र भविष्यका लागि बालसंवाद, हामी सबैको सहभागिता, बालमैत्री समाजको निर्माण’ भन्ने नारासहित आयोजित कार्यक्रममा बालबालिकाले आफ्ना समस्या, अनुभव र सवाल खुलेर राखेका थिए। उनीहरूले बालविवाह, बालश्रम, शिक्षामा पहुँच तथा निरन्तरता र समाजमा भोग्नुपरेका विभिन्न समस्याबारे जनप्रतिनिधि तथा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।


बालबालिकाले उठाएका सवालमाथि जनप्रतिनिधि तथा सरोकारवालाले सुनुवाइ गर्दै समाधानका उपायबारे छलफल गरेका थिए। बालबालिकाको शिक्षा निरन्तरता, संरक्षण र अधिकार सुनिश्चितताका लागि स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) को सहजीकरण रहेको थियो।
बालबालिकाका वास्तविक समस्या पहिचान गरी स्थानीय तह र सरोकारवालाबीच साझा प्रतिबद्धता निर्माण गर्न बालकचहरी कार्यक्रम प्रभावकारी माध्यम बनेको आयोजकले जनाएको छ।
बालबालिकाको आवाजलाई सुनुवाइ गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने, बालविवाह तथा बालश्रमजस्ता सामाजिक समस्या रोकथाम गर्ने र बालमैत्री समाज निर्माणमा समुदायको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका प्रतिनिधि उदयसिंह बोहराले बताए।









