सडक पुगेपछि घोडाको व्यापार ओरालो, जोलजीविको पुरानो रौनक हराउँदै

दार्चुला । कात्तिक १६ गते घरबाट पाँच घोडा लिएर हिँडेका बाजुराका सत्यराज शाही मङ्सिर ३ गते मालिकार्जुन गाउँपालिका-७ स्थित सीमावर्ती ऐतिहासिक जोलजीवि मेला पुगे । झण्डै दुई साताको पैदल यात्रापछि उनी मेलामा पुग्दा मनमा एउटै आशा थियो, घोडा बिक्री होस्, । तर उनले साेचेभन्दा घाेडाकाे व्यापार कम हुने हाे कि भन्ने पीर भने याेपटक परेकाे छ ।

स्वामीकार्तिक गाउँपालिका–२ का शाहीका लागि जोलजीवि मेला नौलो ठाउँ होइन । २०४२/४३ सालदेखि उनी घोडा लिएर यहाँ व्यापार गर्दै आएका छन् ।
पछिल्लो समय हरेक बस्तीसम्मका बाटाघाटा फेरिए, गाउँगाउँमा सडक पुगे । तर शाहीको घोडा व्यापारसँग जोडिएको यात्राले भने अझै निरन्तरता पाउँदै आएको छ ।
पहिले जस्ताे व्यापार त छैन तर उनले वर्षाैदेखि यहि पेसा गर्दै आएका छन् ।
यद्यपि, पहिले जस्तो व्यापार छैन । घोडा बिक्री हुने संख्या घट्दै गएको छ । गाउँमा सडक पुगेपछि भारी बोक्न र आवतजावत गर्न घोडाको आवश्यकता कम हुन थालेको छ । त्यसको असर वर्षौंदेखि घोडा व्यापार हुँदै आएको जोलजीवि मेलामा समेत देखिन थालेको छ ।
पहिले ग्राहक घाेडा नपुग्दै यता पुगेका हुन्थे । जाेलजीविमा घाेडाकाे वर्षाैदेखिकाे व्यापार भएको कारण ठाउँको नामनै घाेडे बगर राखिएको छ ।

पहिले व्यापारको चहलपहल, अहिले ग्राहकको प्रतीक्षा

विगतमा जोलजीवि मेलामा आफुले मात्रै २० देखि २२ वटासम्म घोडा बिक्री गर्ने गरेको शाही सम्झन्छन् । अहिले पाँच मात्रै घाेडा लिएर आएकाे छु ।
कुनै वर्ष व्यापार राम्रो हुन्थ्यो, कुनै वर्ष कम । तर घोडा किन्ने र बेच्नेको चहलपहल अहिलेको तुलनामा पहिले बढी हुने गरेको उनको अनुभव छ ।

‘पहिले घोडाको व्यापार राम्रै हुन्थ्यो । गाउँघरमा भारी बोक्न घोडा चाहिन्थ्यो । अहिले सडक पुगेपछि घोडा किन्ने मान्छे कम हुँदै गएका छन्,’ शाही भन्छन् ।

यस वर्ष नेपालबाट ६ जना व्यापारी २७ घोडा लिएर जोलजीवि पुगेका छन् । व्यापारीहरू घोडा बिक्री हुने आशामा मेलामा बसेका छन् । तर, व्यापारको पुरानो रौनक विस्तारै खुम्चिँदै गएको छ ।

घोडाको मूल्य नेपाली ५० हजार रुपैयाँदेखि एक लाखभन्दा बढी पर्ने गरेको छ । घोडाको अवस्था, उमेर, क्षमता र खरिदकर्ताको आवश्यकताअनुसार मूल्य तय हुने गर्छ । शाही मङ्सिर १० /१२ गतेसम्म मेलामा बसेर व्यापार गर्ने योजनामा छन् ।

सडकले सहज बनायो जीवन, बदलिदियो व्यापार

पछिल्लो समय सडकले ढुवानी सहज बनाएको छ, समय बचत गरेको छ र मानिसको जीवनशैली फेरिएको छ । तर, यही परिवर्तनले परम्परागत रूपमा चल्दै आएका केही व्यवसायलाई भने संकटमा पार्दै गएको छ ।

कुनै समय पहाडी जीवनको अभिन्न हिस्सा बनेको घोडा अहिले आधुनिक यातायातका साधनसँग प्रतिस्पर्धा गर्न नसक्दा यसको व्यापार साँघुरिँदै गएको छ ।
सडक नपुगेका दुर्गम क्षेत्रमा मात्रै अहिले घाेडा पालन देखिएको छ ।

याे क्षेत्रमा हुम्ला, जुम्ला र बाजुराबाट घाेडा पुग्ने गरेकाे स्थानीय बहादुर चन्द बताउँछन् । घाेडा नआए यहाँकाे व्यापारकाे राैनक पनि हुदैन् । तर सडक विस्तारका कारण खरिदबिक्री चाहिँ कमि भएको छ ।

वर्षौंदेखि नेपाली व्यापारी घोडा लिएर मेलामा पुग्ने र भारतीय ग्राहकले खरिद गर्ने परम्पराले यस मेलालाई छुट्टै पहिचान दिएको उनी बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार