सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

दार्चुला । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल च्याम्पियन बन्ने इतिहास रचेको हो ।

पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जित्यो । यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ ।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ ।

सुदूरपश्चिमले पहिलो संस्करणदेखि नै आफूलाई एनपीएलको बलियो टोलीका रूपमा स्थापित गरेको थियो । पहिलो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर उपाधि भिडन्तमा जनकपुरसँग पराजित भएपछि टोली उपविजेतामा सीमित भयो ।

दोस्रो संस्करणमा पनि सुदूरपश्चिमको प्रदर्शन उत्कृष्ट रह्यो । लिग चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको उसले विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनायो । तर फाइनलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएपछि लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनुपर्‍यो ।

तेस्रो संस्करणमा सुदूरपश्चिमको सुरुवात पनि सहज रहेन । पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले तेस्रो खेलमा विराटनगर किंग्ससँग पनि हार बेहोर्‍यो । चौथो खेलमा चितवन राइनोजलाई हराउँदै पुनरागमन गरेको सुदूरपश्चिमले त्यसपछि लिग चरणमा लगातार चार खेल जित्दै प्लेअफमा स्थान बनायो ।

लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा फेरि लुम्बिनीसँग पराजित भयो । तर दोस्रो अवसरको सदुपयोग गर्दै दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर लगातार तेस्रो पटक फाइनलमा पुग्यो ।

फेरि प्रतिद्वन्द्वी लुम्बिनी नै थियो । अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हार र यस सिजन लिग चरण तथा पहिलो क्वालिफायरमा भोगेका पराजयको बदला लिने अवसर सुदूरपश्चिमसँग थियो ।

यसपटक भने टोलीले कुनै गल्ती गरेन । जर्ज मन्सेको विस्फोटक शतकको मद्दतमा १० विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिमले उपाधि आफ्नो बनायो ।

लुम्बिनीसँगको तीन हारको बदला

सुदूरपश्चिमका लागि यो उपाधि जित मात्र थिएन, लुम्बिनीविरुद्धको लगातार तीन हारको जवाफ पनि थियो ।

दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा पनि उसैसँग हार बेहोरेको थियो ।

एउटै सिजनमा दुई पटक पराजित भएपछि फाइनलमा लुम्बिनीलाई हराउनु सुदूरपश्चिमका लागि प्रतिष्ठाको विषयसमेत बनेको थियो ।

निर्णायक खेलमा भने सुदूरपश्चिमले एकपक्षीय प्रदर्शन गर्‍यो । ब्याटिङ, बलिङ र समग्र खेलमा उत्कृष्ट देखिएको टोलीले १० विकेटको जितसहित लुम्बिनीमाथि निर्णायक प्रहार गर्‍यो ।

सम्बन्धित समाचार

ताजा समाचार