दार्चुलाको सीमावर्ती व्याँस गाउँपालिका–१ टिंकरका करिब ४५० बासिन्दा सामान्य उपचारका लागि समेत सात घण्टासम्म पैदल हिँड्न बाध्य छन् । प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सामुदायिक स्वास्थ्य भवन हस्तान्तरण तथा सञ्चालनमा नआउँदा स्थानीयले आधारभूत स्वास्थ्य सेवासमेत पाउन सकेका छैनन् ।

स्वास्थ्य सेवाको पहुँच नहुँदा बिरामी, गर्भवती महिला, सुरक्षाकर्मी तथा कर्मचारीको ज्यानसमेत जोखिममा पर्ने गरेको छ । गाउँमा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्य उपचारका लागि समेत भारत वा जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । कतिपय स्थानीय जडीबुटी र घरेलु उपचारकै भरमा बस्न बाध्य छन् ।

स्वास्थ्य सेवाको अभावले निम्त्याएको मानवीय क्षतिको उदाहरण हुन्, व्याँस गाउँपालिका–१ की ४१ वर्षीया विन्द्रा बुढा । २०७९ असोजमा करिब तीन महिना ताक्लाकोट बसेर गाउँ फर्किएकी बुढालाई घर फर्केको तेस्रो दिनदेखि एक्कासि असह्य टाउको दुख्ने र रिंगटा लाग्ने समस्या देखियो । उपचारका लागि स्थानीयले उहाँलाई स्ट्रेचरमा बोकेर भारततर्फ लगे पनि अस्पताल नपुग्दै मृत्यु भएको स्थानीयले बताएका छन् ।

‘गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी नै नभएपछि स्वास्थ्यकर्मी हुने कुरा भएन,’ विन्द्राका श्रीमान् चन्द्रसिंह बुढाले बताए, ‘हामी साधारण मान्छेले के रोग लागेको हो भन्ने कुरा कसरी थाहा पाउनु ?’
गाउँमै सामान्य स्वास्थ्य जाँच र औषधि उपचारको व्यवस्था भएको भए श्रीमतीको ज्यान जोगाउन सकिने थियो कि भन्ने पीडाले उनलाई अहिले पनि सताउने गरेको छ । ‘गाउँमै जाँच गर्न जान्ने र औषधि दिन जान्ने मान्छे भइदिएको भए अस्पताल पुर्याउँदासम्म उनलाई बचाउन सकिन्थ्यो होला । अकालमै ज्यान जाने थिएन होला,’ उनले बताए ।
सामान्य प्राथमिक उपचारको समेत व्यवस्था नभएको टिंकरमा ७५ परिवारको बसोबास छ । स्वास्थ्य सेवाको पहुँच नहुँदा स्थानीय नागरिक मात्र नभई सुरक्षाकर्मी र कर्मचारीले समेत अकालमै ज्यान गुमाउनुपरेका घटना छन् ।
‘विन्द्रा बितेको एक वर्षपछि एक जना प्रहरी असईको पनि बाटोमै मृत्यु भएको थियो,’ पूर्व जिल्ला विकास समिति सदस्यसमेत रहेका टिंकरका स्थानीय दानसिंह टिंकरीले बताए, ‘उहाँ सामान्य अवस्थामा नै हुनुहुन्थ्यो । रक्तचाप बढेपछि प्रहरी र गाउँले मिलेर बोकेर उपचारका लागि लैजाँदै थियौँ । बाटोमै सास गइहाल्यो ।’
गाउँमै रक्तचाप जाँच गर्ने स्वास्थ्यकर्मी र प्राथमिक उपचारका लागि आवश्यक औषधिको व्यवस्था भएको भए प्रहरीको ज्यान जोगाउन सकिने सम्भावना रहेको उनको भनाइ छ । टिंकरबाट स्वास्थ्य चौकी रहेको छाङ्गरु पुग्न तीन घण्टा र फर्किन चार घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ ।
व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले सामुदायिक स्वास्थ्य भवनको निर्माण कार्य केही मात्रामा बाँकी रहेकाले सञ्चालनमा आउन नसकेको बताए । उनले चालु आर्थिक वर्षभित्रै गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालन गर्ने जानकारी दिए ।











