दार्चुला। मानसिक स्वास्थ्यसम्बन्धी जटिल समस्यासँग जुधिरहेका नागरिकलाई उपचारको पहुँचमा पुर्याउने उद्देश्यले दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मानवीय र सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारको लागि काठमाडौं पठाएको छ ।

आर्थिक तथा सामाजिक रूपमा विपन्न अवस्थाका मानसिक स्वास्थ्य समस्याबाट प्रभावित गाउँपालिकाभित्रका ९ जना नागरिकलाई उपचारका लागि ललितपुरस्थित मानसिक अस्पताल लगनखेल पठाइएको हाे।

लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण कठिन जीवनयापन गर्न बाध्य विरामीलाई काठमाडौ लगिएकाे छ ।


आर्थिक अभाव, सामाजिक कठिनाइमा बाच्न बाध्य नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन मानसिक अस्पताल पठाएको गाउँपालिका प्रवक्ता मदनबहादुर चन्दले बताए ।
गाउँपालिकाले उनीहरूको उपचारका लागि समन्वय र सहजीकरण गर्दै अस्पतालसम्म पुर्याउन पहल गरेकाे हाे । गाउँपालिकाले प्रवक्ता चन्दकाे नेतृत्वमा विरामी र उनीहरूको आफन्त (कुरूवा) लाई अस्पताल लगिएको छ । गाउँपालिका प्रवक्ता चन्दका अनुसार पालिकाले काेहि पनि नागरिक उपचार अभावले जीउन बाध्य हुने अवस्थाको अन्त्य गर्न पालिकाले काम गरिरहेकाे बताए ।
मानवीय संवेदनालाई आत्मसात् गर्दै गाउँपालिकाले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका नागरिकलाई उपचारको अवसर दिलाउन गरेको प्रयासलाई स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले मानसिक स्वास्थ्य पनि समग्र स्वास्थ्यकै अभिन्न अङ्ग भएको उल्लेख गर्दै आर्थिक अभाव र सामाजिक कठिनाइका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो पहल गरेको बताए ।
अध्यक्ष धामीले उपचारका लागि गएका सम्पूर्ण बिरामीहरू शीघ्र स्वास्थ्यलाभ गरी पुनः स्वस्थ, आत्मनिर्भर र सम्मानजनक जीवनमा फर्कन सकून् भन्ने कामना व्यक्त गरे ।
स्वस्थ नागरिक बनाउने गाउँपालिकाे चाहना अनुसार मानसिक स्वास्थ्य समस्या देखिएका नागरिकको उपचार गर्ने व्यवस्था मिलाइएको छ उनले भने ।











