दार्चुला । नेपाल–भारत सीमा क्षेत्रमा लाग्दै आएको सदियौँ पुरानो ऐतिहासिक तथा सांस्कृतिक जोलजिवी मेला यस वर्ष पनि तयारी तीव्र पारिएको छ । भारतको पिथौरागढस्थित जौलजिवी र नेपालको दार्चुलास्थित मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा लाग्ने यस मेलाको तयारी दुवैतर्फ तीव्र पारिएको छ ।
भारततर्फ प्रत्येक वर्ष नोभेम्बर १४ देखि सुरु हुने यो मेला नेपालतर्फ भने मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुने गर्छ । भारत उत्तराखण्ड जोलजीवि मेलाको शनिबार मुख्यमंत्री पुष्कर सिंह धामीले उद्घाटन गरे ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार यस वर्ष नेपालको जोलजिवीमा एक पाइलो मल्टिमिडियाको संयोजन, गाउँपालिकाको आयोजना तथा वडा नम्बर ७ को सह आयोजनामा मेला तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । शनिबार वडा नम्बर ७ मा मेला व्यवस्थापन समितिको बैठक बसी मंगलबार उद्घाटन हुने महोत्सव भव्य बनाउने निर्णय भएको अध्यक्ष धामीले बताए । मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना अनुरुप समितिको बैठक बसेको हो ।
महाकाली र गोरी नदीको संगमस्थलमा लाग्ने जोलजिवी मेला नेपाल र भारतबीचको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा परिचित छ । तत्कालीन अस्कोटका राजा पुष्कर पालले जोलजिवीमा ज्वालेश्वर मन्दिर स्थापना गरी मेलाको सुरुवात गरेको ऐतिहासिक विवरण उल्लेख पाइन्छ ।
सुरुवाती समयमा नेपाल, भारत र चीनको तिब्बत क्षेत्रका व्यापारीहरू मेलामा सहभागी हुने गरेका थिए । भारतका काशीपुर, रामनगर, मुरादाबाद र बरेलीलगायत क्षेत्रका व्यापारीहरू समेत मेलामा आउने गरेको इतिहास पाइन्छ ।
जोलजिवी मेला व्यापारिक कारोबारका साथै स्थानीय उत्पादनको बजारीकरण गर्ने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ। मेलामा जुम्ला, हुम्ला र बाजुरालगायत जिल्लाबाट घोडा बिक्रीका लागि व्यापारी आउने गर्छन् । विशेषगरी जुम्ली घोडाको खरिदबिक्री मेलाको प्रमुख आकर्षणमध्ये एक हो ।
त्यसैगरी स्थानीय किसान तथा व्यापारीले घिउ, मह, निगालोबाट बनेका सामग्री र कृषि उत्पादन बिक्री गर्ने गर्छन् । जाडोयामका लागि आवश्यक कपडा, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पनि स्थानीय बासिन्दा मेलामा पुग्ने गरेका छन् ।
जोलजीवि मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक महोत्सवको आयोजना गरिन लागेको अध्यक्ष धामीले बताए । यस्तै पालिकाभित्रका स्थानीय कृषि तथा उद्योगको प्रदर्शनी रहने छ ।













