एमाले दार्चुलाको स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न

दार्चुला । नेकपा एमाले दार्चुलाको स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ। कार्तिक ११ गते आज खलंगामा बसेको बैठकले कार्यदलका सदस्यहरूलाई स्थानीय तहअनुसार जिम्मेवारी तोक्नुका साथै कार्तिक २० गतेभित्र तोकिएको काम सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले एमालेका पूर्वकेन्द्रीय कमिटी सदस्य हरदेव जोशीको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरूलाई जिल्लाका विभिन्न पालिकाको जिम्मेवारी प्रदान गरेको हो। कार्यदलमा प्रदेश कमिटी सचिवालय सदस्य देव सिंह महर, नगेन्द्र तिंकरी र मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्वजिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी सदस्य रहनुभएको छ। खडक बडाललाई कार्यदल सचिवको जिम्मेवारी दिइएको छ।

बैठकले पालिका कमिटी, वडा कमिटी तथा अगुवा कार्यकर्ताको भेला र प्रशिक्षण सञ्चालन गरी पालिकास्तरमा पार्टीको अवस्था बुझ्ने उद्देश्यसहित सदस्यहरूलाई जिम्मेवारी तोकेको कार्यदल सचिव खडक बडालले बताए ।
जिम्मेवारीअनुसार हरदेव जोशी र रामदत्त जोशीलाई शैल्यशिखर नगरपालिका तथा हरदेव जोशी र ज्ञानेन्द्र घर्तीलाई नौगाड गाउँपालिकाको जिम्मेवारी दिइएको छ। त्यसैगरी देव सिंह महरलाई मार्मा र अपिहिमाल गाउँपालिका, नगेन्द्र तिंकरीलाई दुहुँ र व्याँस गाउँपालिका तथा मोहन सिंह धामीलाई मालिकार्जुन र लेकम गाउँपालिकाको जिम्मेवारी तोकिएको छ। कार्यदलका सचिव खडक बडाललाई महाकाली नगरपालिका र कार्यालयको जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले जिम्मेवारी पाएका सदस्यहरूले कार्तिक २० गतेभित्र तोकिएको काम पूरा गर्नुपर्ने निर्णय गरेको छ। सम्भावना रहेका स्थानमा सोही अवधिभित्र अगुवा कार्यकर्ता भेला पनि आयोजना गरिने कार्यदल संयोजक हरदेव जोशीले बताउनुभयो। प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाको सल्लाहमा कार्यदल गठनपश्चात बैठक बसेको र कार्तिक २० गतेभित्रै उपयुक्त स्थानमा कार्यदलको अर्को बैठक बस्ने निर्णय गर्दै पहिलो बैठक सम्पन्न भएको उहाँले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार