भोटेकोसी बाढीपछि रसुवामा दार्चुलाका चार जना सम्पर्कविहीन, बाह्र जनाको उद्धार

दार्चुला । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवामा कार्यरत दार्चुलाका चार जना सम्पर्कविहीन भएका छन्। भदौ १० गते बुधबार बिहान आएको बाढीपछि उनीहरूसँग सम्पर्कविहिन भएका हुन् ।

सम्पर्कविहीनका परिवारले खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलासँग आग्रह गरेका छन् । सम्पर्कविहीन हुनेमा नेपाली सेना, सरकारी कार्यालय तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति रहेका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार कामको सिलसिलामा रसुवामा रहेका उनीहरू बाढी आएपछि परिवारको सम्पर्कमा छैनन्। परिवारजनले उनीहरूको अवस्था यथाशीघ्र पत्ता लगाई खोजी तथा उद्धारका लागि पहल गर्न प्रशासनलाई आग्रह गरेका हुन् ।

सम्पर्कविहीन हुनेमा लेकम गाउँपालिका–४, दह घर भई नेपाली सेनाको श्रीनाथ गणमा दरबन्दी रहेका तथा रसुवास्थित सुरक्षा बेस टिमुरेका इन्चार्ज सहायक सेनानी देवसिंह धामी रहेका छन्। बाढी आएको समयदेखि नै उहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

त्यस्तै, शैल्यशिखर नगरपालिका घर भएका टिमुरे भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी, शैल्यशिखर नगरपालिका–८ का जयधन जोशी र दुहुँ गाउँपालिका–५ का विकास ठकुरी पनि सम्पर्कविहीन रहेको परिवारका सदस्यले प्रशासनलाई जानकारी गराएका छन्।

परिवारका अनुसार जयधन जोशी अप्पर त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए भने नरेशदत्त जोशी रसुवा भन्सार कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । त्यस्तै, नेपाली सेनामा कार्यरत विकास ठकुरी रसुवास्थित मैलुङ हाइड्रोपावरमा खटिएका थिए ।

बाढी आएको चार दिन बितिसक्दा पनि उनीहरूको अवस्थाबारे जानकारी नआएपछि परिवारजन थप चिन्तित बनेका छन्। तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग पहल गर्न परिवारले प्रशासनसँग आग्रह गरेका छन्।

प्रजिअ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयले सम्बन्धित परिवार तथा स्थानीय तहलाई आवश्यक सूचना सङ्कलनमा सहयोग गर्न अनुरोध गरेको छ।

बाढीमा फसेका दार्चुलाका १२ जनाको उद्धार

भोटेकोसी बाढीमा फसेका दार्चुलाका बाह्र जनाको सकुशल उद्धार गरिएको छ। शैल्यशिखर नगरपालिका–१ का उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार हुनेमा ४२ वर्षीय चन्द्रबहादुर खडायत, ४६ वर्षीय सबिर खडायत, २९ वर्षीय शम्भु खडायत, २४ वर्षीय धिर्कबहादुर खडायत, ३९ वर्षीय बसन्त खडायत, ४१ वर्षीय दानबहादुर खडायत, २० वर्षीय शशी खडायत र ४८ वर्षीय लालबहादुर खडायत, मदन खडायत, लालमनी खडायत, पानबहादुर खडायत, गणेश खडायत श्रवण तितरा रहेका छन्।

उनीहरूलाई बाढीबाट सुरक्षित रूपमा उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूलाई घरसम्म पुग्नकाे लागि शैल्यशिखर नगरपालिका -१ ले एक लाख रूपैया यातायात खर्च व्यवस्थापन गरेकाे वडा अध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार