तीज र नारी दिवसको बजेट विपद् उद्धार कोषमा जम्मा गर्ने मालिकार्जुन–५ को निर्णय

दार्चुला । मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदनबहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको रकम कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा गर्न लागिएको हो।

देश विपत्तिमा रहेको अवस्थामा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भएकाले कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी वडावासीको तर्फबाट विपद् प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता चन्दले जानकारी दिए ।

उनका अनुसार विपद्को समयमा गरिएको सानो सहयोगले पनि प्रभावित नागरिकलाई राहत पुग्ने भएकाले वडा कार्यालयले सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको रकम विपद् उद्धारमा उपयोग गर्ने निर्णय गरेको हो।

प्रवक्ता चन्दले विपद्को समयमा सहयोगको भावना महत्वपूर्ण हुने भन्दै अन्य स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था र आम नागरिकलाई समेत आफ्नो क्षमताअनुसार विपद् प्रभावितको सहयोगमा जुट्न आग्रह गरेका छन् ।

याेपटक रमाइलो भन्दा पनि देश राेएकाे बेला खर्च कटाैति गरिएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार