दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारकाे नीति योजना आयोगको सदस्यमा गंगादत्त जोशी मनोनित भएपछि दार्चुलाबाट प्रदेश नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले भदाै १२ गते जाेशीलाई सदस्य पदमा मनाेनित गरेकाे हाे ।
यस्तै मोहनसिंह विष्ट सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनको सदस्यमा निर्वाचित भएको अवसरमा नेकपा (एमाले) दार्चुलाकाे अगुवा कार्यकर्ताले धनगढीमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सहभागी एमाले नेताहरूले नयाँ जिम्मेवारी पाएका दुवैलाई बधाई दिँदै उनीहरूको भूमिका व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी दार्चुला र सुदूरपश्चिमको विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन्।

पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले नीति योजना आयोगमा दार्चुलाबाट प्रतिनिधित्व हुनु जिल्लाका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले जोशीको ज्ञान, सीप र क्षमतालाई सुदूरपश्चिमको विकासको खाका निर्माणमा उपयोग गर्नुपर्ने धारणा राखे।

“ज्ञान, सीप र क्षमता अब सुदूरपश्चिमको खाका कोर्नमा लगाउनुपर्छ,” ठगुन्नाले भने, “दार्चुलाको विकासका लागि सहकार्य र समन्वय गरेर काम गर्नुपर्छ।”
उनले पहिलोपटक नीति योजना आयोगमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित भएकाे भन्दै दार्चुलाका विकासका मुद्दालाई नीति निर्माणको तहसम्म पुर्याउन जोशीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीकाे अध्यक्षतामा भएको बधाई शुभकामना कार्यक्रममा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाकाे प्रमुख आतिथ्य रह्यो ।
यस्तै कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र मल्ल, पूर्व केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द, लेखा समिति अध्यक्ष राजेन्द्र सामन्त, पुर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, प्रदेश सचिवालय सदस्य नगेन्द्र तिंकरी, प्रदेश सदस्य लालबहादुर विक र पूर्व जिल्ला कमिटी उपाध्यक्ष उदयसिंह बडाललगायतको सहभागिता थियो।












