दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ धापमा गौरा पर्वलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न गौरा समिति गठन गरिएको छ। महाकाली नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष नन्दा देवी कोलीको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिले गौरा पर्वका क्रममा मदिरा सेवन गरी हो–हल्ला गर्ने तथा पर्वको शान्ति–व्यवस्था भंग गर्ने व्यक्तिलाई जरिवाना गर्ने निर्णय गरेको छ।
समितिको निर्णयअनुसार मदिरा सेवन गरी हो–हल्ला गर्नेलाई पहिलो पटक रु. १ हजार, दोस्रो पटक रु. २ हजार र तेस्रो पटक रु. ३ हजार जरिवाना गरिनेछ। त्यस्तै, मदिरा बिक्री–वितरण गर्ने व्यक्तिलाई पहिलो पटक रु. ३ हजार, दोस्रो पटक रु. ५ हजार र तेस्रो पटक रु. ७ हजार जरिवाना तोकिएको छ। जरिवानाबाट संकलन हुने रकम हालको बाढी तथा विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत समितिले गरेको छ।
यस वर्षको गौरा पर्व भदौ १९, २० र २१ गते मनाइने भएको छ। पर्वलाई व्यवस्थित बनाउन महाकाली नगरपालिका ०८ स्थित नेपाल(भारत मोटरेबल पुलभन्दा माथिल्लो क्षेत्रदेखि महाकाली नगरपालिका ०७ को थालिगाड बजार क्षेत्रसम्म चार किल्ला निर्धारण गरिएको समितिले जनाएको छ। उक्त क्षेत्रभित्र मदिरा सेवन गरी हो(हल्ला गर्ने, गौरा पर्वको वातावरण बिथोल्ने तथा मदिरा बिक्री वितरण गर्ने कार्यमा संलग्नलाई समितिको निर्णयअनुसार कारबाही गरिने समितिका सदस्य विशाल सिंह रैखोलाले जानकारी दिए ।
समितिले गौरा पर्वलाई मर्यादित, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी, युवा तथा सम्पूर्ण सरोकारवालालाई सहयोग गरिदिन आग्रह गरेको छ।












