भोटेकोशी बाढीमा सुदूरपश्चिमका सयभन्दा बढी सम्पर्कविहीन

दार्चला । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा परी सुदूरपश्चिम प्रदेशका सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा कार्यरत मजदुर, कर्मचारी तथा सुरक्षाकर्मीसहित ठूलो सङ्ख्यामा सुदूरपश्चिमका नागरिक सम्पर्कविहीन भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीका ४०, कञ्चनपुरका २९, डडेलधुराका १५, बाजुराका १३, बैतडीका आठ, दार्चुलाका तीन, डोटी र बझाङका दुई/दुई तथा अछामका एक जना सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार विवरण सङ्कलन जारी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्नेछ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले बाढी प्रभावित क्षेत्रमा कार्यरत सुदूरपश्चिमका नागरिकको खोजी तथा अवस्थाबारे विवरण सङ्कलन भइरहेको जानकारी दिए।

दार्चुलाका तीन जना सम्पर्कविहीन
रसुवामा रहेका दार्चुलाका तीन जना पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–८ का जयधन जोशी, सोही ठाउँका नरेशदत्त जोशी र दुहुँ गाउँपालिका–५ का विकास ठकुरी सम्पर्कविहीन भएका हुन्।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार जयधन जोशी अप्पर त्रिशूली हाइड्रोमा कार्यरत थिए भने नरेशदत्त जोशी रसुवा भन्सार कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। दुहुँ–५ का विकास ठकुरी नेपाली सेनामा कार्यरत रहेकामा रसुवास्थित मैलुङ हाइड्रोपावरमा खटिएका थिए।

बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेकाले परिवारका सदस्यले खोजी तथा उद्धारका लागि प्रशासनसँग आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित परिवार तथा स्थानीय तहलाई सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलनमा सहयोग गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार