धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

धनगढीमा बसेको प्रदेश कमिटी सचिवालय बैठकले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रदेश कमिटीको तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन सबैलाई आह्वान गरेको छ।
पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीकाे अध्यक्षता तथा पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारीको विशेष आतिथ्यतामा बैठक बसेकाे हाे ।
बैठकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका कार्यमा पार्टीका नेता तथा कार्यकर्तालाई समेत सक्रिय रूपमा परिचालन हुन आग्रह समेत गरेको छ।











