दार्चुला । सडक सञ्जालले नछोएको हिमाली जिल्ला दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्यटक भने निरन्तर पुगिरहेका छन् । प्राकृतिक सौन्दर्य, अपि हिमाल, जडीबुटी, मौलिक संस्कृति, परम्परागत खानपान र पदमार्गका कारण पर्यटकको आकर्षण बढ्दै गए पनि गाउँपालिकाको केन्द्र खण्डेश्वरीसम्म भने अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन।

दार्चुलाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडक नपुगेको हो। भौगोलिक विकटता, कडा चट्टानी भू–बनोट र सीमित स्रोतसाधनका कारण सडक निर्माण चुनौतीपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।

सडकको पहुँच नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्री ढुवानीदेखि विकास निर्माणका सामग्री ओसारपसारसम्ममा वर्षौंदेखि समस्या भोग्दै आएका छन्। तर, यही दुर्गमताबीच अपिहिमालको प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई भने आकर्षित गरिरहेको छ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५६ महिला र ३७० पुरुष गरी ४२६ जना आन्तरिक तथा बाह्य पर्यटकले अपि हिमाल तथा अपिनाम्पा संरक्षण क्षेत्रको भ्रमण गरेका छन्।
अपिहिमाल गाउँपालिकाका अनुसार अपि वेश क्याम्पसम्म घुम्नकै लागि वार्षिक पाँच हजार आन्तरिक पर्यटक पुग्छन् । याे वर्ष आन्तरिक तथा बाह्य गरि दश हजार पर्यटक भित्र्याउने याेजना रहेकाे गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहराले बताए ।
सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपि हिमालको बेसक्याम्पसम्म पर्यटक पदमार्ग हुँदै पुग्ने गरेका छन्। सडक अभावकै कारण अपिहिमालको पर्यटनमा पदयात्राको छुट्टै आकर्षण बनेको छ।
गाउँपालिकाका अध्यक्ष बोहराले अपिहिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउछन्। उनका अनुसार सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमध्ये अपिहिमाल पनि परेको छ।
सडक निर्माणमा चुनौती
सदरमुकाम खलङ्गाबाट करिब २३ कोष उत्तरपश्चिममा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने सडक हाल वडा नम्बर ३ को गौँड्याखोलासम्म पुगेको छ। गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाको केन्द्रसँग वडा कार्यालय जोड्ने सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
हाल वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सवारीसाधन सञ्चालन गर्न मिल्ने सडक पुगेको छ। वडा नम्बर ३ का अध्यक्ष गगनसिंह कार्कीले सडक अभावका कारण यातायात, विकास निर्माण र दैनिक उपभोग्य वस्तुको ढुवानीमा स्थानीयले ठूलो समस्या भोगिरहेको बताए।
उनका अनुसार पर्यटकीय स्थलका कारण बेला–बेला पर्यटक आउँदा अपिहिमाल केही समयका लागि सुगम जस्तो देखिए पनि स्थानीयको दैनिक जीवनमा सडकको अभाव अझै समस्या बनेको छ।
यसअघि तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले गत असार १ गते ल्याएको बजेटमा मकरीगाडदेखि खण्डेश्वरी सडक निर्माणका लागि तीन करोड रुपैयाँ र मकरीगाड सडक पुल निर्माणका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो।
तर, उक्त बजेट पारित नभएपछि अहिले नयाँ बजेट निर्माणको तयारी भइरहेको छ।











