महाकाली कोरिडोरमा ४५.५ किलोमिटर ट्रयाक अझै बाँकी

दार्चुला । सुदूरपश्चिम प्रदेशको रणनीतिक तथा राष्ट्रिय गौरवको आयोजना महाकाली कोरिडोर निर्माणले अपेक्षित गति लिन सकेको छैन । ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर सडकअन्तर्गत ३३४ किलोमिटरमध्ये अझै ४५.५ किलोमिटर सडकमा ट्रयाक खोल्न बाँकी रहेको छ ।

महाकाली कोरिडोर सडक निर्माण योजनाका कार्यालय प्रमुख ईश्वर कार्कीका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले कुल लागत १८ अर्ब रुपैयाँ अनुमान गरेको छ । हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ भने १४ अर्ब रुपैयाँ बराबरको काम अझै बाँकी छ ।

आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु भएको आयोजनाअन्तर्गत हालसम्म ३३४ किलोमिटरमध्ये २८८.५ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । बाँकी ४५.५ किलोमिटरमध्ये डडेलधुरामा २६ किलोमिटर, बैतडीमा २.५ किलोमिटर र दार्चुलामा १७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको कार्यालय प्रमुख कार्कीले बताए ।

कुल ४१३ किलोमिटर लामो महाकाली कोरिडोरमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलाको ७९ किलोमिटर सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

हालसम्म कञ्चनपुरतर्फ ११ किलोमिटर, डडेलधुराको ५८ किलोमिटरमध्ये ३२ किलोमिटर, बैतडीको १४४ किलोमिटरमध्ये १४१.५ किलोमिटर र दार्चुलाको १२१ किलोमिटरमध्ये १०४ किलोमिटर सडकमा ट्रयाक खुलिसकेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ मा १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने र १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । तर, आयोजनामाथि विभिन्न ठेक्काको करिब एक अर्ब रुपैयाँ पुरानो दायित्व बाँकी रहेकाले निर्माणको गति उपलब्ध बजेटमा निर्भर हुने देखिएको छ ।

चालु आवमा आयोजनाका लागि ३९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त रकमबाट प्राथमिकताका आधारमा पुरानो दायित्व भुक्तानी गरिने कार्यालय प्रमुख कार्कीले बताए । पर्याप्त बजेट अभावका कारण कोरिडोर निर्माण सम्पन्न हुने समयसीमा अहिले नै निर्धारण गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

“कोरिडोरको निर्माण सम्पन्न गर्ने लक्ष्य तोकेर भन्न सकिने अवस्था छैन । डिपिआरअनुसार १८ अर्ब रुपैयाँ लागत हो, अहिले चार अर्ब रुपैयाँ मात्रै खर्च भएको छ, १४ अर्ब रुपैयाँ अझै बाँकी छ,” कार्कीले भने ।

सेनातर्फ २० किलोमिटर ट्रयाक खुल्यो

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको ७९ किलोमिटर सडकखण्डमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म २० किलोमिटरमा ट्र्याक खोलिएको छ । त्यसमध्ये १२ किलोमिटर सडक दुम्लिङ गाउँसम्म सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा पुर्‍याइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार