दार्चुला । दार्चुला दुध र मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा हरेक वर्ष दुध तथा मासु उत्पादन बढ्दै गएपछि आवश्यकताभन्दा बढी उत्पादन हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लालबहादुर बोहराका अनुसार जिल्लामा वार्षिक १ हजार ८ सय ६६ दशमलव ३ मेट्रिक टन मासु आवश्यक पर्नेमा हाल २ हजार १ सय ६६ मेट्रिक टन उत्पादन हुँदै आएको छ । आवश्यकताभन्दा करिब २ सय ६० मेट्रिक टन बढी मासु उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
त्यस्तै, जिल्लामा वार्षिक १२ हजार १ सय ३१ मेट्रिक टन दुध आवश्यक पर्नेमा हाल १७ हजार ५ सय १६ मेट्रिक टन उत्पादन भइरहेको छ । जिल्लामा आवश्यकताभन्दा ५ हजार ३ सय ८५ मेट्रिक टन बढी दुध उत्पादन भइरहेको कार्यालय प्रमुख बोहराले जानकारी दिए ।

तर अण्डा उत्पादनमा भने दार्चुला अझै परनिर्भर रहेको तथ्यांकले देखाएको छ । जिल्लामा वार्षिक ६ हजार ३ सय ९८ गोटा अण्डा आवश्यक पर्नेमा हाल ९ सय ९८ गोटा मात्रै अण्डा उपलब्धता रहेको कार्यालयले जनाएको छ । अण्डाको माग पूरा गर्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको छ ।
पशुजन्य उत्पादनसँगै जिल्लाबाट पशु तथा पशुजन्य वस्तुको निर्यातसमेत बढ्दै गएको छ । बोहराका अनुसार जिल्लाबाट गत अवधिमा खसी, बोका, भेडा तथा च्याङ्ग्रा गरी १४ हजार ५ सय वटा निर्यात भएका छन् भने २ सय ८४ वटा आयात भएका छन् । त्यस्तै, राँगा, भैँसी र गाई गरी १ हजार ८ सय ५६ वटा निर्यात हुँदा १ सय ६३ वटा आयात भएका छन् ।

जिल्लामा पशुपालन गर्ने कृषक परिवारको संख्या पनि उल्लेख्य रहेको छ । कार्यालयको तथ्यांकअनुसार दार्चुलामा २४ हजार ९ सय ३० घरधुरी कृषक परिवार रहेका छन् । जिल्लामा ७० हजार ७ सय ५५ गाई, ३० हजार ४ सय ५२ भैँसी, २४ हजार २ सय ७६ भेडा, ९० हजार १ सय ४९ बाख्रा, ९ सय ७६ बंगुर, ४४ हजार ५ सय ९० कुखुरा, २ सय ९० हाँस र १ हजार ४२ चौँरी रहेका छन् ।
जिल्लामा पशुपालनको सम्भावना उच्च रहेकाले व्यावसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्न सके उत्पादन अझै बढाउन सकिने बोहराको भनाई छ ।











