दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दार्चुला शाखाले आर्थिक वर्ष २०८२-८३ मा जिल्लाभर ७ हजार ८८५.६६ क्विन्टल खाद्यान्न बिक्री गरेको छ । कम्पनीले जिल्ला शाखा, डिपो तथा विभिन्न बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गरेको हो । कम्पनीले खाद्यान्न बिक्रीबाफत कुल ४ करोड ५१ लाख २ हजार २५० रुपैयाँ आम्दानी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दार्चुला शाखा प्रमुख हर्कराज उपाध्यायका अनुसार जिल्लाका बिक्री केन्द्रमध्ये सबैभन्दा बढी नौगाड गाउँपालिका–१ स्थित नागु बिक्री केन्द्रबाट १ हजार ८६० क्विन्टल खाद्यान्न बिक्री भएको छ । उक्त केन्द्रबाट मात्रै १ करोड २ लाख ६ हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । सडक सञ्जालको पहुँच नभएको भन्दै प्रतिनिधिसभा निर्वाचनसमेत बहिष्कार गरिएको नागु क्षेत्रमा कम्पनीले नियमित रूपमा खाद्यान्न आपूर्ति गर्दै आएको छ ।

कम्पनीले अपिहिमाल गाउँपालिकाको क्षत्ति, व्याँस गाउँपालिकाको सुनसेरा, नौगाड गाउँपालिकाको नागु, मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाको छाङरु लगायतका बिक्री केन्द्रमार्फत खाद्यान्न वितरण गर्दै आएको छ । पछिल्लो समय भारतीय बजारबाट खाद्यान्न आयातमा कमी आएपछि कम्पनीको चामलको बिक्री बढेको शाखा प्रमुख उपाध्यायले बताए ।
भारतसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा विगतमा भारतीय बजारबाट सहज रूपमा खाद्यान्न आपूर्ति हुने गरे पनि अहिले आयातमा कमी आएपछि सरकारी खाद्यान्नप्रति उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ । यद्यपि भारतीय बजारको प्रभावका कारण जिल्लामा अपेक्षाअनुसार बिक्री वृद्धि हुन नसकेको उनले बताए । उनले भने, ‘अझै भारतबाट आयात हुने खाद्यान्नमा कडाई ग¥यो भने कम्पनीको खाद्यान्न दर अझै बढ्छ ।’

सदरमुकाम खलंगा, लेकम, मालिकार्जुन, दुहुँ, व्याँस, र नौगाड क्षेत्रसम्म भारतीय चामल पुग्ने गरेको छ । खुला सीमानाका कारण स्थानीयले दैनिक उपभोग्य वस्तुको रुपमा चामल तथा पिठो आयात गर्ने गरेका छन् । भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख दिनेशसिह धामीका अनुसार भारतबाट ल्याएको खाद्यान्नको रेकर्ड खास नराखिएको बताए । उनले भने, यति क्वीन्टल भनेर रेकर्ड छैन्, व्यक्तिगत प्रयोजनको लागि ल्याएको चामल, पिठो सँगै अरु सामग्रीको एकमुष्ठ भन्सार काटिएको हुँदा परिणाम बताउन कठिन छ ।
व्यापार कम्पनीले गत आर्थिक वर्षमा ग्राहकलाई १० लाख २६ हजार ३७५ रुपैयाँ बराबरको छुट सुविधा उपलब्ध गराएको छ । विशेषगरी दशैं–तिहार तथा गत असार महिनामा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिएको थियो ।
कम्पनीले चालु आर्थिक वर्षमा जिल्लामा ७ करोड रुपैयाँ बराबरको चामल बिक्री गर्ने लक्ष्य लिइएको छ । खाद्यान्नसँगै गैरखाद्य वस्तुको बिक्री विस्तार गर्ने, चाडपर्वमा सहुलियत उपलब्ध गराउने तथा स्थानीय तहसँग समन्वय गरी वर्षभरि खाद्यान्न भण्डारण र मौज्दात बढाउने योजना रहेको शाखा प्रमुख उपाध्यायले बताए ।
उनका अनुसार गत वर्ष सडक अवरुद्ध हुँदा अपिहिमाल गाउँपालिकामा मागअनुसार चामल ढुवानी गर्न कठिनाइ भएको थियो। त्यस अनुभवका आधारमा यस वर्ष खाद्यान्न आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाइने तयारी गरिएको छ ।











