लिपुलेक नाका हुँदै साउन १६ गते देखि भारत–चीन सीमा व्यापार सुरु हुने

दार्चुला । चार वर्षभन्दा बढी समयदेखि बन्द रहेको लिपुलेक नाका हुँदै हुने भारत–चीन सीमा व्यापार आगामी साउन १६ गते देखि पुनः सञ्चालन हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चीन सरकारको पुराङ काउन्टीका सम्पर्क अधिकारी लुओसाङले इमेलमार्फत धारचुला प्रशासनलाई व्यापार सञ्चालनको औपचारिक स्वीकृति दिएको हो ।

पहिलो चरणमा २० जना व्यापारी तथा उनीहरूका सहयोगीलाई चीनको ताक्लाकोट बजार प्रवेश गर्न अनुमति दिइने भएको छ।
धारचुलाका उपजिल्ला अधिकारी तथा अन्तर्राष्ट्रिय व्यापार अधिकारी आशीष जोशीका अनुसार पहिलो चरणमा सन् २०१९ देखि ताक्लाकोट बजारमा पसल वा सामान रहेका व्यापारीहरूलाई मात्र प्रवेशको अनुमति दिइनेछ। प्रारम्भिक चरणमा उनीहरूले नयाँ सामान नलगी चीन प्रवेश गर्ने व्यवस्था गरिएको छ।

चिनियाँ पक्षले व्यापारीहरूको परिचयपत्रसहितको प्रमाणित नामावली पुनः पठाउन आग्रह गरेको छ। यसका लागि भारत–चीन सीमा व्यापार समितिलाई निर्धारित मापदण्डअनुसार २० जना व्यापारी तथा सहयोगीको प्रमाणित सूची साउन ११ गते बिहान ११ बजेसम्म प्रशासनमा बुझाउन निर्देशन दिइएको छ।

कोभिड–१९ महामारीका कारण सन् २०२० देखि लिपुलेक नाका हुँदै हुने भारत–चीन सीमा व्यापार पूर्ण रूपमा बन्द थियो। यस वर्ष दुवै देशको सहमतिपछि व्यापार पुनः सञ्चालन हुन लागेको हो। व्यापार जुन १ बाटै सुरु गर्ने तयारी भए पनि विभिन्न प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको थियो।

हालसम्म धारचुला तहसील कार्यालयले १३४ जना व्यापारी तथा सहयोगीलाई ट्रेड पास जारी गरिसकेको जनाएको छ। सीमा व्यापार पुनः सञ्चालन हुने निर्णयसँगै सीमावर्ती क्षेत्रका व्यापारीहरू उत्साहित बनेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार