दार्चुलामा वर्षायामका बेला रातिको सवारी आवागमनमा रोक

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले वर्षायामका कारण सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रात्रीकालीन समयमा सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ।

वर्षायाममा निरन्तर वर्षा भइरहने, सडक अवरुद्ध हुने तथा दुर्घटनाको जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाभित्र सञ्चालन हुने तथा जिल्लाबाट अन्य जिल्लातर्फ जाने सवारी साधनका लागि नयाँ समयसीमा निर्धारण गरिएको हो।

प्रशासनले खलंगाबाट जिल्लाबाहिर जाने लामो दूरीका सवारी साधनले अपराह्न ३ बजेभित्र, जिल्लाभित्र चल्ने छोटो दूरीका सवारी साधनले अपराह्न ४ बजेभित्र तथा गोकुलेश्वरबाट खलंगा प्रवेश गर्ने सवारी साधनले पनि अपराह्न ४ बजेभित्र यात्रा सुरु गरिसक्नुपर्ने जनाएको छ।

त्यस्तै, गोकुलेश्वरबाट पनेबाँजसम्म आउने सवारी साधन बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ। यसबाहेक जिल्लाभित्र सञ्चालन हुने अन्य सवारी साधनमा बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा सञ्चालन रोक लगाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक तथा अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न आग्रह गर्दै अत्यावश्यक अवस्थामा भने नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार