दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल सञ्चालनमा ढिलाइ भएको छ । पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको १३० मिटर मुख्य सडक निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन् । नेपालतर्फको सडक निर्माण गरिरहेको कम्पनीका सबइन्जिनियर हेम पाण्डेका अनुसार सडकमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिने छ ।

करिब ११० मिटर लम्बाइको दुई लेनको यो पुल दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गतको छारछुम क्षेत्रमा पर्छ । स्थानीय जिप व्यवसायी नरेश भट्टले निर्माण पूरा भइसकेको पुल सञ्चालन गर्नुपर्ने बताए । उालेले भने, “यहाँको व्यापार, पर्यटन क्षेत्रलाई माथि उठाउन दुई देशको सीमामा बनेको पुल यथाशीघ्र सञ्चालन गर्नु जरुरी छ ।”

दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले निर्माण पूरा भएर सञ्चालनको पर्खाइमा रहेको पुल नेपालतर्फ आवश्यक पूर्वाधार निर्माण गरी छिटो सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गरिरहेको बताए ।

आव २०७९/८० को असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा पुल निर्माणको शिलान्यास गर्नुभएको थियो । पुलनजिक नेपालतर्फका सरकारी कार्यालय भन्सार, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने संरचना निर्माण गर्न बाँकी रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए।
सम्झौता अनुसार पुल निर्माण २०२३ अक्टोबरमा सक्नुपर्ने भए पनि थप काम गर्नुपर्ने भएपछि निर्माण लम्बिएको सबइन्जिनियर पाण्डेले बताए । पुलको निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले गरेको थियो ।
यो पुलले दुई देशबिचको व्यापारिक, पर्यटकीय र सांस्कृतिक पक्षमा महìवपूर्ण टेवा पुग्ने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले बताए । पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुन सक्ने जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले बताए ।











