मार्मामा एक महिनाअघि भारतबाट फर्किएका श्रीमानको हत्या, श्रीमती नियन्त्रणमा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–४ मा श्रीमानको मृत्यु प्रकरणमा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटनापछि शवको दाहसंस्कार गरिसकिएको अवस्थामा मात्रै प्रहरीलाई जानकारी पुगेकाले अनुसन्धान जटिल बनेको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार मार्मा गाउँपालिका–४ का पूर्णसिंह धामीको जेठ ३१ गते आफ्नै घरभित्र हत्या भएको अवस्थामा शव फेला परेको प्रारम्भिक जानकारी आएको छ । तर घटनाबारे प्रहरीलाई दुई दिनपछि मात्रै मंगलबार सूचना दिइएको थियो । स्थानीयले शवलाई असार १ गते दाहसंस्कार गरिसकेका छन् ।


घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्न नपाउँदै शव जलाइसकिएको अवस्थामा जानकारी प्राप्त भएकाले घटनाको अनुसन्धान थप संवेदनशील बनेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतककी श्रीमती राधा धामीलाई नियन्त्रणमा लिएको छ । यद्यपि उहाँले हालसम्म हत्या गरेको स्वीकार नगरेको प्रहरीको भनाइ छ ।


मृतक धामी झण्डै १० वर्षदेखि भारतको बेङ्गलोरमा रोजगारीका लागि बस्दै आएका थिए । उनी करिब एक महिनाअघि मात्रै घर फर्किएका थिए । घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । शवको दाहसंस्कार गरिसकिएको र घटनाबारे लामो समयसम्म सूचना नदिइएको अवस्थाले प्रमाण सङ्कलनमा चुनौती थपिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।


मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समेत गाउँमा भएको यति गम्भीर घटनाबारे आफूलाई समयमै जानकारी नदिइएको बताए । उनले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । प्रहरीले अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार