दार्चुला : नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ। ‘म पनि रक्तदाता’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत आज खलङ्गास्थित पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।


‘ल्याब असिस्टेन्ट’ करनसिंह धामीका अनुसार पुलघाटमा ८३ र बसपार्क क्षेत्रमा ५७ जनाको रक्त समूह पहिचान गरिएको छ। गत वैशाख १३ गतेदेखि दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनका लागि अभियान सुरु गरिएको उनले बताए।


रक्त सञ्चार उपसमितिका सदस्य कृष्णसिंह धामीले आमनागरिकमा रक्तदानप्रति सकारात्मक भावना जागृत गराउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “अझै पनि धेरै नागरिकमा रक्तदान गर्नुपर्छ भन्ने चेतना विकास हुन सकेको छैन। गत बैशाखमा स्थापना गरिएको रक्त सञ्चार केन्द्रमा नियमित रगत आपूर्ति सुनिश्चित गर्न र आवश्यक पर्दा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो”,उनले भने।

अभियानअन्तर्गत दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र मावि खलङ्गा र मालिकार्जुन मावि धापमा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिने रक्त सञ्चार उपसमितिका सदस्य भूपेन्द्र विष्टले जानकारी दिए। रक्त समूह पहिचान गरिएका व्यक्तिलाई रक्तदान अभियान समूहमा आबद्ध गराइनेछ ।
हाल जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा सोही समूहमार्फत रक्तदाताको खोजी गर्ने गरिएको छ। उक्त समूहमा हालसम्म तीन सय ३३ जना आबद्ध भइसकेका छन्। नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महराले महाकाली नगरपालिकाको समन्वयमा चालु आर्थिक वर्षमा रक्त सञ्चार केन्द्र व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए। “रक्तदानप्रति सकारात्मक सोच विकास गर्न सके अभियान सफल हुन्छ । त्यसैले पहिलो वर्ष नागरिकमा सचेतना फैलाउन आवश्यक ठानेर अभियान सञ्चालन गरिएको हो”, उनले भने।
जिल्ला अस्पतालका डा रवीन्द्र भट्टराईका अनुसार पहाडी जिल्ला अस्पतालमा हुने रगतको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने बताए। दार्चुलामा रगत अभाव भएमा सबैभन्दा नजिक रक्त सञ्चार केन्द्र बैतडी र डडेल्धुरामा मात्रै रहेकाले जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गरी व्यवस्थापन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
रक्त सञ्चार केन्द्रमा जनशक्ति अभाव
यहाँ रक्त सञ्चार केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्तिको अभाव छ। केन्द्र स्थापना भएको लामो समय हुँदा पनि आवश्यक दरबन्दीअनुसार जनशक्ति पदपूर्ति हुन सकेको छैन।
हाल जिल्ला अस्पताल र महाकाली नगरपालिकाबाट खटाइएका कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको छ। रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महराले रक्त सञ्चार केन्द्रका लागि छुट्टै जनशक्ति आवश्यक भए पनि स्रोत अभावका कारण व्यवस्थापन गर्न नसकिएको बताए।
“हाल असार मसान्तसम्मका लागि एक जना जनशक्ति मात्रै व्यवस्थापन गरिएको छ। २४ सै घण्टा सेवा दिनुपर्ने केन्द्रमा एक जना मात्रै कर्मचारी हुँदा समस्या भएको छ। त्यसैले जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय रेडक्रस र स्थानीय तहबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ”, उनले भने।
अस्थायी भवनबाट सेवा सञ्चालन
नेपाल रेडक्रस सोसाइटीको आफ्नै भवन नहुँदा हाल जिल्ला अस्पतालबाट अस्थायी रुपमा रक्त सञ्चार केन्द्र सञ्चालन गरिएको छ। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला अस्पतालको सहयोगमा अस्थायी संरचनामा रक्त सञ्चार केन्द्रलाई नियमित सञ्चालनमा ल्याइएको हो।
केन्द्रको आफ्ननै भवनका लागि स्थानीय तह र प्रदेश सरकारलाई माग गरिए पनि हालसम्म सुनुवाइ भएको छैन। रेडक्रस सोसाइटीका सभापति महराले भने,“भवन निर्माणका लागि सहयोग आह्वान गरेका छौँ, तर हालसम्म सहयोग प्राप्त भएको छैन। चालु आवमा भवन व्यवस्थापनका लागि महाकाली नगरपालिकाले रु पाँच लाख सहयोग गर्नुबाहेक अरु स्थानीयले तहले सहयोग गरेका छैनन्।”
रक्त सञ्चार केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारले उपकरणमा सहयोग गरेको थियो। नयाँ आर्थिक वर्षमा थप उपकरण र जनशक्ति व्यवस्थापनमा सहयोगको लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको सभापति महराले जानकारी दिए।







