महाकालीको भेलसँग संघर्ष गर्दै बालुवा चाल्नेहरू !

दार्चुला । महाकाली नदी उर्लिएको छ। बर्खाको निरन्तर झरीसँगै नदीको बहाव झन् वेगवान् बनेको छ। नदीको छाल हेर्दा जोकोहीको मनमा डर पैदा हुन्छ। तर, यही भेलसँगै केही स्थानीयवासीकाे दैनिकी भने रोकिँदैन ।

हातमा डोका, बेल्चा र बोरा बोकेर उनीहरू रातको अँध्यारोमै नदी किनार पुग्छन्। चिसो पानीसँग जुध्दै बालुवा निकाल्छन्, गिट्टी छान्छन् र बोरा भर्छन्। बिहान घर फर्किएपछि मात्रै उनीहरूको दिनको अर्को संघर्ष सुरु हुन्छ।

“पानीसँग डर लाग्छ, तर घर चलाउनुपर्छ,” दुहुँ गाउँपालिका–४ की पार्वती कुँवर भन्छिन्, “नदीमा नजाने हो भने अर्को रोजगारीको विकल्प पनि छैन। तीन महिनाको यही कामले घरखर्च चलाउनुपर्छ।”

दुहुँ गाउँपालिका–२ की मञ्जु बडालको कथा पनि उस्तै छ। बालुवा र गिट्टी निकाल्नु उनको रोजाइ होइन। गाउँमा नियमित रोजगारीको अवसर नहुँदा उनी वर्षौंदेखि महाकाली नदी किनारमा बालुवा निकाल्दै आएकी छन्।

घरखर्च, छोराछोरीको पढाइ र दैनिक आवश्यकता पूरा गर्न नदी किनारमा पुग्नुपर्ने बाध्यता छ। बालुवा निकाल्दा शरीर थाक्छ। हातखुट्टा दुख्छन्। रातभर चिसो पानीसँग जुध्नुपर्छ। बर्खामा नदीको बहाव कहिले बढ्छ र कहिले घट्छ भन्ने निश्चित हुँदैन। तर, बिहान घर फर्किंदा हातमा आउने रकम भने जोखिम र श्रमको तुलनामा निकै कम हुन्छ।

“बर्खाको झरीमा जोखिम मोलेर निकालिएको बालुवा मुस्किलले प्रतिबोरा ६० रुपैयाँसम्ममा बिक्री हुन्छ,” मञ्जु भन्छिन्, “यति जोखिमपूर्ण काम छ, तर पैसा निकै थोरै पाइन्छ। कहिलेकाहीँ स्थानीय सरकारले बालुवा निकाल्न अवरोध गर्छ र ट्याक्टरमा उठाइदिन्छ। त्यतिबेला ३० रुपैयाँमा समेत बिक्री हुँदैन।”

तर, यही श्रमबाट आएको आम्दानी र उनका पतिले विदेशबाट पठाएको पैसाले उनले खलंगामा घर बनाएकी छन्। छोराछोरी पढाइरहेकी छन्।

महकाली नदिमा दुहुँ र व्याँस क्षेत्रका झण्डै ५० भन्दा बढी परिवार बालुवा र गिट्टी निकाल्ने कामबाट जीविकोपार्जन गर्दै आएका छन् ।

बालुवाबाटै छाेरीकाे वैदेशिक सपना पूरा
बैतडी पुर्ख्यौली घर भएका ६८ वर्षीय विशन बोहराले दार्चुलामा बालुवा निकालेको तीन दशक हुदैछ । उमेरले आराम खोज्ने बेला भए पनि उनलाई बालुवा र गिट्टी निकाल्ने कामबाट टाढा राख्न सकेका छैनन् ।

दार्चुलामा बसेर उनले करिब २५ वर्षदेखि महाकाली नदीबाट बालुवा र गिट्टी निकाल्दै आएका छन् । घर मात्रै भन्नू बैतडी हाे, यहि बसेर जूनि बित्न लाग्याे उनले भने ।
२५ वर्षको अवधिमा महाकालीको बहाव धेरैपटक फेरियो। नदीको किनार फेरियो। मौसम फेरियो। तर, विशनको काम फेरिएन। २०७० सालको महाकाली बाढी होस् वा त्यसपछिका वर्षमा लास्कु खोलामा आएका बाढी–पहिरो, उनको दैनिकी रोकिएन। परिवारको छाक टार्न उनी फेरि नदी किनारमै फर्किए। कहिलेकाही विगतमा भारि पनि बाेके । तर अधिकांश समय नदि किनारमै बितेकाे छ ।

विशनको परिवारमा दुई छोरी र एक छोरा छन्। छोरा राजेश अहिले ट्याक्टर चलाउँछन्। एक छोरी मीना बोहरा गत वैशाखमा अध्ययनका लागि जापान पुगेकी छन्।

छोरीलाई जापान पठाउन परिवारले करिब १७–१८ लाख रुपैयाँ खर्च गरेको विशन बताउँछन्। यो रकम जुटाउनु सहज थिएन। “वर्षौँदेखि यहि महाकाली नदिबाट झिकेकाे बालुवा र गिट्टी निकालेर गरेको कमाइ र ऋण गरेर छोरीलाई जापान पठाएका हौँ,” उनी भन्छन्।

छोरीको सपना पूरा गर्न ऋण निकाल्नै पर्याे । विशनकी पत्नी राजमती बोहरा पनि श्रीमान्सँगै यही काममा हातेमालो गर्छिन्। छोरा राजेश पनि परिवारको श्रममा जोडिएका छन्।

विशनका अनुसार सुरुवाती वर्षमा महाकालीको किनारबाटै सहज रूपमा बालुवा निकाल्न सकिन्थ्यो। अहिले अवस्था फेरिएको छ। “सुरुका वर्षमा थोरै मात्रामा यहाँबाट बालुवा निकाल्थ्यौँ। अहिले मान्छे बढे। नदी किनारको बालुवा सकिएपछि महाकालीको बीच भागबाट निकाल्नुपरेको छ,” उनी भन्छन्।

यसले जोखिम झन् बढाएको छ। नदीको बहाव तीव्र भएका बेला बीच भागमा पुगेर बालुवा निकाल्नु ज्यानकै जोखिम हो ।

तीन महिनाको कमाइ, वर्षभरिको खर्च

महाकाली नदिमा बालुवा र गिट्टी निकाल्ने मुख्य मौसम असार, साउन र भदौ हो। यही तीन महिनाको आम्दानीले कतिपय परिवारले वर्षभरि घरखर्च धान्नुपर्ने हुन्छ।

विशेषगरी दुहुँ र व्याँस क्षेत्रका महिलाहरू यो काममा बढी संलग्न छन्। नदीबाट बालुवा निकालेर फर्किएपछि उनीहरूको काम भने राेकिदैन् ।
घर पुगेपछि खाना पकाउने, बालबच्चा हेर्ने, घरधन्दा गर्ने र परिवारका अन्य जिम्मेवारी पनि उनीहरूकै काँधमा हुन्छ ।

दुहुँ गाउँपालिका–२ का मोहनसिंह बडालका अनुसार बालुवा र गिट्टी निकाल्न निकै मेहनत लागे पनि त्यसअनुसारको मूल्य पाउन सकिएको छैन।

खलंगाबाट हिकिला पुर्‍याउँदा प्रतिकठ्ठा करिब २०० रुपैयाँसम्म ढुवानी खर्च लाग्छ। नियमित रूपमा पूर्वाधार निर्माणका काम र घर निर्माण भइरहे मात्रै बालुवा र गिट्टीको माग हुन्छ। “बालुवा र गिट्टी निकाल्न धेरै मेहनत लाग्छ। तर, त्यसअनुसारको मूल्य पाइँदैन,” उनी भन्छन्, “ढुवानी भाडा महँगो हुँदा त्यसको मार पनि हामीले नै भोग्नुपरेको छ।”
बिक्री नभएको समयमा निकालिएको बालुवा थुप्रो बनाएर राख्नुपर्ने अवस्था हुन्छ उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार