दार्चुला । नेकपा एमालेले केन्द्रीय सदस्य तथा नेतृत्वलाई पालिकातिर केन्द्रित गरेकाे छ । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान अन्तरगत पालिका केन्द्रित गरेकाे हाे ।

यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ । जसअनुसार दार्चुलाका ९ ओटा स्थानीय तहमा केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना र निवर्तमान केन्द्रीय सदस्य हरदेव जाेशीलाई खटाएको छ ।

दार्चुला इन्चार्ज समेत रहेका ठगुन्नालाई लेकम, अपिहिमाल, नाैगाड, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाकाे जिम्मेवारी दिइएको छ ।
यस्तै निवर्तमान केन्द्रीय सदस्य जाेशीलाई व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाकाे जिम्मेवारी दिइएकाे छ ।
जेठ ४ बाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् ।
गणतन्त्र दिवसका दिन हिजो जेठ १५ गतेको मितिमा जारी गरिएको अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ ।
केन्द्रीय सदस्यहरु मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।






