चीनसँगको सीमा नाका टिंकर नाका कहिले होला सञ्चालन ?

दार्चुलाः चीनसँग सीमा जोडिएको दार्चुलाको व्यास गाउँपालिका– १, को टिंकर नाका खुल्ने प्रतिक्षामा स्थानीय छन् । व्याँस गाउँपालिकाको छाङरु र तिंकरका स्थानीय चीनको ताक्लाकोट व्यापारको लागि जान सीमा नाका खुल्ने प्रतिक्षामा छन् ।
सदियौँदेखि यहाँको छाङरु र तिंकर गाउँमा बसोबास गर्ने सौका समुदाय चीनस्थित ताक्लाकोट बजारमा व्यापार गर्ने गर्छन् । तिंकर नाका आधिकारिक नाकाका रूपमा नभए पनि लामो समयदेखि यहाँका स्थानीयले ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा यो नाकामार्फत आवतजावत तथा व्यापार व्यवसाय गर्दै आएका छन्

विगतका वर्षमा जस्तै यस वर्ष पनि ताक्लाकोटस्थित स्थानीय सरकार, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग व्यापारीहरूका लागि नाका सञ्चालनका विषयमा आग्रह गरिएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालय मैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिए।
तिंकर नाका चाँडै खोल्ने आश्वासन पाएको उनले बताए । यो नाका गत वर्ष खुलेको थियो । यहाँका नागरिकको प्रत्यक्ष व्यापार चीनसँग हुने गरेको छ ।
नाका खुलेलगत्तै स्थानीय व्यापारी व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा जुटेका छन् । उनका अनुसार ताक्लाकोटमा केहि महिना खाद्य सामग्री र लुगाकपडाको व्यापार गरिन्छ। ताक्लाकोटमा दार्चुलाका व्याँसको छांगरु र तिंकरका मात्रै ३२ वटा पसल र चार वटा होटेल सञ्चालनमा रहेका छन् । गत वर्ष साउन ७ देखि ९ सम्म दुई दिनका लागि तिंकर नाका खुलेको थियो । विगतदेखि नै छाङरु र तिंकरका ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने व्यापारी बोहोराले बताए।
नाका खुलेपछि स्थानीयले छ महिना ताक्लाकोट व्यापार गरेका थिए ।
नेपाल–चीन तिंकर नाका खुल्नेबारे स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए। अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन्, उनले भने, स्थानीयको माग भने नाका खुल्नुपर्यो भन्ने छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका २१२ जनाले प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।
चीनले सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरेर कच्ची सडक पु¥याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट छ भने नेपालतर्फ व्यास गाउँपालिका–१, तिंकरको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आब २०८०र८१ देखि व्यापारीको आवतजावतका लागि मात्रै खुल्दै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार