दार्चुला । इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ । निर्माण व्यवसायी संघ दार्चुलाले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूद्वारा जारी विज्ञप्तिमा मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
घ इन्धनमा तथा निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको बताइएको छ ।

‘ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्कअनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भए पनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धन सामग्रीसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेका अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्लासंघ जोडदार माग गर्दछ ।’प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुसार मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।











