महाकाली नगरपालिकामा मानसिक स्वास्थ्य सेवा र नीति सुदृढ गर्ने पहल

दार्चुला- मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम, प्रारम्भिक पहिचान तथा स्थानीय तहको मानसिक स्वास्थ्य नीति र प्रणालीलाई सुदृढ गर्ने उद्देश्यका साथ दार्चुलाको महाकाली नगरपालिकामा ‘मनोविकास अभियान’ को औपचारिक शुभारम्भ भएको छ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा यो अभियान सञ्चालनमा ल्याएको हो।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा जिल्ला तथा स्थानीय सरकारका प्रतिनिधिहरू, शिक्षकहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाहरूको उपस्थित रहेकाे थियो।
कार्यक्रममा बोल्दै वर्ल्डलिंककी सीएसआर निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले मनोविकास अभियान कुनै एक-दुईवटा कार्यक्रममा मात्र सीमित नभएको बताइन्। उनले व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई आपसमा जोड्दै पालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र प्रणालीलाई दिगो रूपमा सुदृढ गर्ने साझा प्रयास नै यो अभियान भएको प्रष्ट पारिन्।
वर्ल्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि देशका विभिन्न जिल्लाहरूमा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीअन्तर्गत यसअघि धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा ‘साइड वाक टक’ कार्यक्रमहरू ९ महिनासम्म सञ्चालन गरिसकिएको छ।

त्यस्तै, एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौँको कागेश्वरी गरी तीनवटा पालिकाहरूमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा नै यस वर्षको ‘मनोविकास अभियान’ को अवधारणा तयार पारिएको हो। महाकाली नगरपालिकामा यो परियोजना छनोट हुनुको मुख्य कारण स्थानीय स्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति र सेवाको सीमितताका साथै नगरपालिकाले देखाएको उच्च नेतृत्व, इच्छाशक्ति र सहकार्यप्रतिको प्रतिबद्धता रहेको निर्देशक भण्डारी जालानले बताउनु भयाे ।
आगामी दश महिनाको कार्यान्वयन अवधिभित्र सम्पन्न गर्ने गरी विभिन्न लक्ष्यहरू निर्धारण गरिएका छन्।  विद्यालय तथा समुदायस्तरमा मनोसामाजिक सहयोगले महाकाली नगरपालिकाका विद्यार्थी र शिक्षकहरूको माध्यमबाट सरकारी विद्यालयदेखि समुदायसम्म मनोसामाजिक सहयोग प्रणालीलाई सुदृढ गर्ने बताइएको छ।
प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत वडास्तरमा प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यमा विशेष सहयोग र सचेतना अभिवृद्धि गर्ने योजना छ।
त्यस्तै डिजिटल सुरक्षा तथा इन्टरनेट जोखिम न्यूनीकरणमार्फत बालबालिका तथा विद्यार्थीहरूलाई इन्टरनेटको जोखिम र सुरक्षासम्बन्धी सचेतना प्रदान गरी त्यसबाट उत्पन्न हुन सक्ने मानसिक असरहरूलाई घटाउने योजना छ।
पालिकाको दीर्घकालीन मानसिक स्वास्थ्य नीति निर्माण र यसको अनुमोदनका लागि आवश्यक सहजीकरण गर्ने योजना पनि अभियानको छ।
यस १० महिने परियोजनाबाट प्रत्यक्ष रूपमा करिब ३ हजार नगरवासीहरू लाभान्वित हुने अपेक्षा छ।

सम्बन्धित समाचार

ताजा समाचार