महाकालीका नाममा चन्दा उठाएर घट्टे खोलामा पुल शिलान्यास

दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले महाकालीमा पुल निर्माण गर्ने भन्दै चन्दा उठाएर घट्टे खाेलामा गएर पुल निर्माणका लागि शिलान्यास गरेका छन् ।

नेपाल -भारत भएर बग्ने महाकाली नदिमा तुइन बिस्थापन गर्ने भन्दै उनले लाखौँ रकम जम्मा गरेर अन्तत घट्टेखाेलामा झाेलुङ्गे पुल निर्माण गर्न लागेका हुन् ।

महाकाली नदिकाे तुइन देखाउदै लाखाै रकम उठाएका छन् । महाकाली नदीमाथि तुइन विस्थापन गरी पुल निर्माण गर्ने उनको घोषणा थियो ।

देश बिदेशबाट महाकाली नदिकाे नाममा रकम उठाएर अर्कै खाेलामा झाेलुङ्गे पुल बनाउन थालेपछि अहिले सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । महाकाली नदिमा यसअघि दर्जन झाेलुङ्गे पुल, माेटरवेल पुल निर्माण गरिएकाे छ, जिल्लाभरि ठाउँ ठाउँमा सयाैं झाेलुङ्गे पुल बनेका छन् । बनेका पुलकाे चर्चा नभएर एउटा सामान्य झाेलुङ्गे पुल बनाउन खाेजेर राजनीतिक स्टन्ट बाजि गर्न खाेजेकाे भन्दै हर्ककाे चर्काे आलोचना भइरहेकाे छ ।

एमालेका सांसद गणेश ठगुन्नाले हर्कको यो कामलाई हावा र स्टन्ट भएको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘उहाँले गर्नु भएको पहल सकारात्मक छ । देश विदेशका नेपालीलाई महाकालीमै पुल हाल्छु, तुइन विस्थापित गर्छु भन्नु चाहिँ स्टन्टबाजी हो ।’

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले पनि हर्कलाई विभिन्न सुझाव सुझाएका छन् ।

हर्कले मंगलबार दार्चुलामा पुलको शिलान्यास समेत गरिसकेका छन् । तर उनले पुल शिलान्यास महाकालीमा हैन घट्टे खोलामा गरेका हुन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हर्कले पुल शिलान्यास महाकालीमा नभई घट्टे खोलामा गरेको जानकारी दिए । उनका अनुसार व्यास गाउँपालिका २ दुम्लिङकाठामा पुल शिलान्यास गरिएको छ । यो नेपाल र भारतको सीमा नदी होइन ।

व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले पनि घट्टे खोलामा यसअघि काठे पुल छ । त्यहीँ हर्कले पक्की पुल बनाउने भन्दै शिलान्यास गरे ।
उनले भने, पहिला काठे पुल रहेको ठाउँमा पुल बन्न लागेको छ । याे पुल कल्जु गाउँ जान, खर ल्याउन र यार्सागुम्बा संकलन गर्न जङ्गल जान काम लाग्छ ।

ब्यास गाउँपालिका-१ का वडाध्यक्ष अशोक बाेहरा त्यहाँको भूगोल नबुझ्नेहरूले महाकालीमै पुल बन्न लागे जसरी हल्ला गरेको बताए । उनी भन्छन्, ‘यहाँको वास्तविक भूगोल थाहा नपाउनेहरूले महाकाली नदीमा होला भनेर हल्ला गरेका हुन् ।’
बरू उनले छाङ्गरू तिङ्कर जाेड्ने घाेरेटाे बाटाे बनाएकाे भए हुने ।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने दार्चुलाका जनतालाई सहज होस् भनेर स्वैच्छिक सहयोग आव्हान गरेर झोलुङ्गे पुल बनाउन लागेको बताए । यसमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको उनको भनाइ छ ।

साम्पाङले पनि आफ्नो राजनीतिक स्वार्थ नभएको बताएका छन् । ‘दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य राखेको छैन मैले, भोट नदिँदा पनि हुन्छ त्यस भेगकाले तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार