ठगुन्नाले भने, ‘अधुरा विकास निर्माणका काम पूरा गर्न निरन्तर लाग्छु’

दार्चुलाबाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गणेशसिंह ठगुन्नाले जिल्लामा अधुरा रहेका विकास निर्माणका कामलाई प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् । विजयी भएपछि आयोजित कोणसभा, पत्रकार सम्मेलन तथा मालिकार्जुन क्षेत्रमा मतदातालाई धन्यवाद दिँदै ठगुन्नाले आफूले सुरु गरेका र हाल कार्यान्वयनमा रहेका योजनाहरूलाई सम्पन्न गराउनेतर्फ विशेष ध्यान दिने बताए ।
उनले भने, ‘संसदमा हाम्रो पार्टीको उपस्थिति कमजोर भए पनि दार्चुलाको विकास निर्माणको काम रोकिँदैन । जिल्लाको आवाजलाई सशक्त रूपमा संसदमा उठाउनेछु ।’
ठगुन्नाले दार्चुलाको विकासका लागि अब थप मेहनतका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब म हरेक दिन कम्तीमा १८ घण्टा जिल्लाको विकासका लागि काम गर्नेछु,’ उनले भने, ‘यसअघि अलि बढी मेहनत गरिएको भए धेरै काम पूरा भइसक्ने रहेछ । अब मेरो समय जिल्लाको हितका लागि मात्रै समर्पित हुनेछ ।’
उनले विकास निर्माणका कामलाई अगाडि बढाउन सबै राजनीतिक दलसँग सहकार्य गर्न आफू तयार रहेको बताए । ‘यो समयमा जति सकिन्छ, दार्चुलावासीको हितमा काम गर्नेछु,’ उनले थपे । आगामी बजेट निर्माणदेखि नै यस क्षेत्रका समस्याको लागि ठोस योजना अघि बढाउछु ।


विकट क्षेत्रका समस्या समाधानमा जोड

ठगुन्नाले जिल्लाका केही विकट क्षेत्रमा अझै पनि आधारभूत समस्याहरू कायम रहेको उल्लेख गरे । नागु र अपिहिमालका एक एक मतदान केन्द्रमा मतदान नै हुन नसकेको उल्लेख गर्दै उनले यस्ता क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताए ।

निर्वाचन अभियानका क्रममा टोल–बस्तीमा पुग्दा साना तर महत्वपूर्ण समस्याहरू अझै समाधान नभएको पाएको उनले बताए । ‘कतिपय ठाउँमा खानेपानी र सिँचाइको समस्या छ । म जनप्रतिनिधि हुँदा दार्चुलामा ६ सयभन्दा बढी खानेपानी योजना ल्याइएको थियो, तर अझै पनि धेरै बस्तीमा खानेपानीको अभाव छ,’ उनले भने ।
तल्लो तहबाट सही जानकारी नपुग्दा केही बस्ती विकासमा पछाडि परेको उनले स्वीकार गरे । ‘यसपटक मैले ती समस्याहरू पहिचान गरेको छु । अब काम समस्याग्रस्त क्षेत्रबाटै सुरु गर्नेछु,’ ठगुन्नाले भने ।

मतदातालाई धन्यवाद ज्ञापन गर्दै गाउँ जादै ठगुन्ना
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गणेशसिह ठगुन्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ जाने भएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ लिनुअघि दार्चुलाका ९ वटै स्थानीय तहका मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ जान लागेका हुन् ।
योपटक दार्चुलामा हाम्रो पार्टी नेकपा एमाले र खासगरी मलाई हराउन घोषित अघोषित गठबन्धन बनेका थिए, ठगुन्नाले भने, ‘तर सबै भ्रमलाई चिर्दै जनताले मलाई विश्वास गरेर निर्वाचित गरेपछि गाउँ पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्छु । धन्यवाद ज्ञापन कार्यक्रम कुन क्षेत्रबाट सुरु गर्ने भन्ने विषयमा बिहीबार बस्ने कार्यदल बैठकले तय गर्ने छ ।
एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीका अनुसार धन्यवाद दिन जाने कार्यक्रम सबै पालिका र सम्भव भएका बस्तीसम्म पुग्ने योजना छ । समय निकै कम भए पनि बढि भन्दा बढि ठाउँ पुग्ने कार्ययोजना बनाउँदै छौं उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार