दार्चुलामा निर्वाचनको तयारी कति ?

दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी दार्चुलामा तिब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारीबारे जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार निर्वाचनको लागि सबै तयारी भइरहेको छ । निर्वाचनको मतदान केन्द्र निरीक्षण, सुरक्षा समिति बैठक, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिमसम्पन्न भइसकेको प्रजिअ पौडेलले बताए ।
जिल्लाका ३० वटा मतदान केन्द्रको अनुगमन गरिएको उनले बताए । नो भोट भन्दै निर्वाचनमा बहिस्कारमा उत्रिएका नौगाड गाउँपालिका–१ को नागु गाउँमा पुगेर सरकारी सेवाको साथै मतदानमा भाग लिन अपिल गरिएको उनले बताए । उम्मेदवारसँग भर्चुअल बैठक राखेर नागुबासीसँग मतदानमा सहभागि हुन अपिल गरिएको छ भने व्याँस गाउँपालिका–२ का स्थानीयसँगको छलफलपछि यहाँका मतदाता भोट हाल्न तयार भएको प्रजिअ पौडेलले जनाए ।
एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदानस्थल, १४३ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लामा भौगोलिक विकटता, सडकको अवस्था, र विगतका घट्नाहरूलाई हेरेर निर्वाचनको सुरक्षा विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्लामा २२ वटा मतदान केन्द्र अतिसम्वेदनशिल र ४१ वटा मतदान केन्द्र सम्वेदनशिल मतदान केन्द्र सामान्य अवस्थामा रहेको उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा ८५७ जना कर्मचारी निर्वाचनमा खटाइएको छ । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई तालिम पश्चात् नियुक्ति दिएर पठाउने काम भइरहेको उनले जानकारी दिए ।
जिल्लामा शुक्रबारसम्म आचारसंहिता उल्लंघनका ९ वटा मोेैखिक उजुरी परेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए । आचारसंहिता उल्लघंन गरेको भन्दै ४४ जनालाई मौखिक स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।
जिल्लामा निर्वाचनको लागि ११ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा ४५ हजार १ सय ९३ महिला र ४७ हजार ७ सय ५५ पुरुष गरी कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार