दार्चुला। दार्चुलामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिखेर ह्वात्तै बढेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधिसभाको एक सिटका लागि यसपटक विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवार अहिले आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा छन् ।
दार्चुलामा विगतदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक नेकपा एमालेबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अघि बढाएका छन् ।
सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका ठगुन्ना दार्चुलाको परिचित राजनीतिक अनुहार हुन् । उनी यसपटक गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । उनले चुनावी अभियानको क्रममा गठबन्धनबाट प्रदेशसभाबाट विजयी भएका उम्मेदवारहरु कता हराएका छन् भनी प्रश्न गरे । दार्चुलामा थुप्रै समस्याहरु छन् । ती समस्या हल गर्न एमालेले विकास निर्माणका काम अघि बढाएर सडक पूर्वाधारको काम भइरहेको बताए । आफु हुँदा सुरु गरेका विकासका काम गठबन्धन बनेपछि अघि बढ्न नसकेको उनको दाबी छ ।

राजनीतिक यात्रालाई हेर्दा ठगुन्ना २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी तीनदलीय गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्रप्रसाद बडुसँग ठगुन्ना २,१३४ मतले पराजित भएका थिए । बडुले २८,५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६,३८१ मत पाएका थिए ।
यसपटक भने बडु चुनावी मैदानमा छैनन् । बदलिएको राजनीतिक समीकरण, गठबन्धनको अभाव र आफ्नो व्यक्तिगत प्रभावका कारण पुनः जित हासिल गर्नेमा ठगुन्ना विश्वस्त देखिन्छन् । स्थानीय तहमा एमालेको बलियो संगठन उनको मुख्य आधार बनेको छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ भने लेकम गाउँपालिकामा पनि पार्टीको पकड राम्रो रहेको एमालेको दाबी छ ।
यता नेपाली कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ । नयाँ अनुहारमार्फत मतदातालाई आकर्षित गर्ने कांग्रेसको रणनीति भए पनि पूर्वमन्त्री बडुजस्तो प्रभावशाली नेताको अनुपस्थिति र पार्टीभित्रको आन्तरिक गुटबन्दी जोशीका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ । उनलाई एमालेको बलियो संगठनसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब पनि छ ।
जिल्लाको लागि नयाँ अनुहारको रुपमा जोशी आएका हुन् । साथै जोशीले पार्टीमा लामो समयदेखि राजनीति गर्दै आएका सिनियर नेताहरुलाई संगै चुनावी अभियानमा जोड्नुपर्ने छ । उनी संसदीय राजनीतिमा पहिलोपटक होमिएका व्यक्ति हुन् ।
यसैगरी, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ऐतिहासिक जित निकालेका लक्ष्मणदत्त जोशी पनि यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । लामो समय संसदीय राजनीतिबाट टाढा रहेका जोशी पुनः चुनावी मैदानमा फर्किएसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ । डेढ दशकपछि उनी योपटक संसदीय राजनीतिमा कम्ब्याकको प्रयासमा छन् । जिल्लाको मार्मा, अपिहिमाल, लेकम गाउँपालिकाको नेतृत्व अहिले नेकपाले गरिरहेको छ । नेकपाको सबैभन्दा बढि पकट मार्मा गाउँपालिका हो । जहाँ नेकपाका जमनसिह धामीले निरन्तर दोस्रोपटक स्थानीय तह जितेका हुन् । नेकपाले जोशीलाई दार्चुलामा गणतन्त्र स्थापनासँगै जिल्लाको विकास निर्माणका प्रारम्भकर्ताको रुपमा उभ्याएका छन् ।
अर्कोतिर जेन्जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी देशभर सामाजिक सञ्जालमा आक्रमक प्रचार शैलीमा उत्रिएको छ । पहिलोपटक रास्वपाबाट दार्चुलामा राजेशसिह सामन्तले उम्मेदवारी दिएका छन् । धेरैले रास्वपाले दार्चुलामा ठूला तिन दलसँगै प्रतिस्पर्धामा गर्ने आंकलन गरेका छन् । छोटो समयमै जिल्लामा संगठन विस्तार गर्दै रास्वपाले घरदैलो अभियान निरन्तर गरिरहेको छ ।
तर दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यतः कांग्रेस र एमालेकै वर्चस्व रहँदै आएको छ । २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६४ सालमा माओवादीले जितेको बाहेक अन्य अधिकांश निर्वाचनमा यी दुई दलबीच नै प्रतिस्पर्धा हुँदै आएको छ ।
निर्वाचन कार्यालयका अनुसार दार्चुलामा यसपटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । पहिलोपटक जिल्लामा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले यस पटकको निर्वाचनले जिल्लामा कसलाई कम्ब्याक गर्छ भन्ने आम चासो बढेको छ ।






