आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलाको व्याँस गाउँपालिका–१ अन्तर्गतका छाङरु र तिंकर गाउँका मतदाताले खलंगामै मतदान गर्ने भएका छन् । हरेक वर्ष जाडोयाम सुरु भएसँगै यहाँका स्थानीयहरू बसाइँसराइ (कुञ्चा) गरी खलंगा झरेपछि खलंगामै मतदान गर्ने भएका हुन् ।
यहाँका स्थानीय छ महिना व्यास गाउँपालिकाको छाङरु–तिंकरमा र बाँकी छ महिना खलंगामा बसोबास गर्दै आएका छन् । मङ्सिर यता तिंकर गाउँ पूर्ण रूपमा सुनसान बनेको छ । तिंकरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छाङरु झरेको छ । छाङ्रु भन्दा तिंकरमा अत्यधिक हिमपात हुने भएपछि स्थानीय खलंगा झरे भने सुरक्षाकर्मी छाङरु झरेका हुन् । यो गाउँ चीनसँग सीमा जोडिएको छ । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्छ ।
छाङरु गाउँमा भने केहि संख्यामा स्थानीयको बसोबास रहेको छ । वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकिदारका रूपमा राखिएको छ । उनलाई वडाले छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।
अत्यधिक हिमपात हुने भएकाले स्थानीयहरू जाडोयाममा बसाइँसराइ गर्न बाध्य हुने गरेका छन् । कोहि नभएको बेला चोरीका घट्ना गाउँमा नहोस् भन्नको लागि चौकिदार राख्ने गरिएको छ ।
हाल छाङरुमा सौर्य ऊर्जाका अपरेटर प्रल्हाद ऐतवाल, द्रोपति बोहरा र दौलत बोहराको परिवार बसोबास गर्दै आएका छन् । सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म र नेपाल प्रहरी छाङरुमै छन् । छाङरु भारतसँग सीमा जोडिएको गाउँ हो । भारतले अतिक्रमण गरेको कालापानी भन्दा छाङ्रु १० किलोमिटर तल छ ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमामा भएको थियो । वैशाख–जेठतिर हुने निर्वाचनहरू प्रायः गाउँमै हुने गरेको वडा अध्यक्ष बोहराले जानकारी दिए । बैशाखमा स्थानीय सौका समुदायको भाषामा (कुञ्चा) सरेर जाने हुँदा गाउँमै मतदान हुन्छ ।
योपटक स्थानीय मंसिर महिनामै खलंगा झरेका हुँदा यहाँ मतदान केन्द्र तोकिँदा स्थानीय खुसी भएका छन् । ‘गाउँमै मतदान केन्द्र भए यस्तो अवस्थामा मतदान गर्न सम्भव हुँदैन’, उनले भने, ‘खलंगामै मतदान केन्द्र तोकिदा मतदाताको सहभागिता पनि बढ्छ ।’
स्थानीयको बसाइँसराइ भइसकेको हुँदा विगतको परम्परा अनुसार मतदान केन्द्र खलंगामै कायम गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनका अनुसार व्यास गाउँपालिका–१ मा दुई वटा मतदान केन्द्र कायम छन् । गाउँकै मतदान केन्द्रका आधारमा खलंगा पनि मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार छाङ्रुका स्थानीयको लागि कैलाशपति आधारभूत विद्यालय छाङरुमा ३७५ जना र तिंकरका स्थानीयको लागि मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २४४ जना मतदाता कायम गरिएको छ । २०७९ सालको निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ जना मतदाता रहेका थिए ।
यसैगरी यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार तीमध्ये २२ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । कुल १४३ मतदान केन्द्रमध्ये २२ अति संवेदनशील, ४१ संवेदनशील र ७८ सामान्य वर्गमा विभाजन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक दुर्गमता र सुरक्षा निकायको पहुँचलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको पौडेलको भनाई छ । यस्तै यस वर्ष दार्चुलामा २०७९ सालको निर्वाचनको तुलनामा २ हजार १६६ मतदाता थपिएका छन् । २०७९ मा ९० हजार ७८२ मतदाता रहेकामा हाल संख्या बढेर ९२ हजार ९४८ पुगेको छ । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् ।


दार्चुलाका छाङरु तिंकरका मतदाताले खलंगामै मतदान गर्ने




