दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ को आफ्नै वडा कार्यालय भवन बनेकाे छ । नवनिर्मित भवनकाे आज एक कार्यक्रमका बीच महाकाली नगर प्रमुख नरसिंह चैसिरले उद्घाटन गरे ।
आठ वर्षदेखि भाडाकाे घरमा बस्दै आएको वडाकाे गल्फैमा नयाँ भवन निर्माण भएको हाे । महाकाली नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा गत आर्थिक बर्षको बजेटमार्फत वडा कार्यालय भवन निर्माण गरिएको वडा अध्यक्ष दिलेन्द्रराज अवस्थीले जानकारी दिए ।

भवन निर्माणका लागि नगरपालिकाको ४७ लाख ५० हजार र प्रदेश सरकारको ४७ लाख ५० हजार (समपुरक बजेट) गरि कुल ९५ लाख रुपैँयामा भवन निर्माण गरिएको हो ।
भवन उद्घाटन समारोहमा नगर-उप प्रमुख दुर्गाकुमारी खत्री विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी ठगुन्ना, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा नम्बर ५ का निर्वतमान वडा अध्यक्ष तोरण प्रसाद अवस्थी, निर्माण व्यवसायी संघका अध्यक्ष सर्पराज बडू, खलगां खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीलगायत अन्य जनप्रतिनिधि, नगरपालिकाका शाखागत कर्मचारी र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
आधुनिक सुविधा र सेवा-मैत्री दृष्टिकोणका साथ निर्माण गरिएको भवनले वडा बासीलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्न थप सहज हुने नगर प्रमुख चैसिरले बताए ।








