नवजात शिशुको पेटभित्रै मृत्यु, आमाको स्वास्थ्य जटिल

दार्चुलाको लेकम गाउँपालिका–२ पिपलकोटका २४ वर्षीया शीतल लावडको पेटभित्रै नवजात शिशुको मृत्यु भएको छ । सुत्केरी गराउनका लागि लावड सोमबार गराडीस्थित सर्मौली स्वास्थ्य चौकी पुगेकी थिइन् ।
सर्मौली स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी कविता पोख्रेलका अनुसार अल्ट्रासाउण्ड गर्दा बच्चाको सास बन्द भइसकेको पाइएको थियो । ‘प्रारम्भिक उपचारपछि राम्रो अस्पतालमा लैजान सिफारिस गरेका थियौं, तर परिवारले लैजान मानेनन्,’ पोख्रेलले भनिन् ।
बिहान ७ बजे स्वास्थ्य चौकी पुगेकी महिलाको अवस्थाबारे अभिभावकलाई जानकारी गराइसकेपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया अघि बढाइएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग उद्धारका लागि औपचारिक पत्र पठाइसकेको थियो ।
तर हेलिकप्टर तयार हुनुअघि नै लावडले बच्चा जन्माएकी हुन् । पेटभित्रै शिशुको मृत्यु भइसकेको भए पनि सुरुमा महिलाको अवस्था स्थिर थियो । महिलाले झोलिलो खाने कुरा खानुभयो । तर केही समयपछि स्वास्थ्य जटिल बन्दै गएपछि उहाँलाई गोकुलेश्वर अस्पताल रेफर गरिएको थियो ।
गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको उनका पति भास्कर लावडले जानकारी दिए । लावडका अनुसार अत्यधिक रक्तस्राव भएकाले गोकुलेश्वर बाट डडेल्धुरा पठाइएको हो । अहिले महिलालाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ ।
श्रीमति शीतललाई अस्पताल भर्ना गरिए पनि उपचारका लागि आफुसँग आर्थिक समस्या रहेको भाष्करले सुनाए । ‘अहिले जेनतेन रगको व्यवस्थापन, औषधि व्यवस्थापन गरिएको छ, आफुसँग रकम नहुँदा थप उपचार कसरी गर्ने भन्ने चिन्तामा छु,’ लावडले भने ।
स्वास्थ्यकर्मीहरूका अनुसार ग्रामीण क्षेत्रमा सुत्केरीका केसहरूमा समयमै रेफर गर्ने सिफारिसलाई बेवास्ता गरिँदा अन्तिममा ज्यान जोखिममा पर्ने घटना दोहोरिने गरेको छ । लावडको यसअघि दुई छोरी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार