गौरीलमाण्डौं हिकिलामा कक्षा ११–१२ मा पनि पूर्ण निशुल्क शिक्षा

दार्चुला — दुहुँ गाउँपालिका अन्तर्गत रहेको गौरीलमाण्डौं हिकिलाले चालू शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण रूपमा निशुल्क शिक्षा दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अबदेखि विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिने भएको हो ।

समितिका अध्यक्ष उदयसिह बडालका अनुसार २०८२ सालदेखि लागू हुने गरी बार्षिक ६ हजार २ सय रुपैयाँ लिइँदै आएको शुल्क हटाइएको छ । विद्यालयले भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, लगायतका नाममा शुल्क उठाउँदै आएकोमा चालू शैक्षिक शत्रबाट शुल्क लिन बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक ईश्वरसिह बडालले विद्यार्थी संख्या घट्दै गएको र अभिभावकको आर्थिक अवस्था कमजोर रहेको कारण निशुल्क शिक्षा बनाइएको बताए । उनका अनुसार अब कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले विद्यालयलाई कुनै पनि शुल्क तिर्नुपर्ने छैन् ।

हाल विद्यालयमा २० जना मात्र विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा अध्यापनका लागि सरकारी अनुदानबाट दुई जना शिक्षक र गाउँपालिकाबाट एक जना सहजकर्ता शिक्षक कार्यरत छन् । तर, कार्यालय सहयोगीको तलब व्यहोर्न भने गाउँपालिकाले थप सहयोग गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक बडालले बताए ।

यसअघि दुहुँ गाउँपालिकाले पालिकाभरिका कक्षा ० देखि १० सम्मका विद्यालयमा निशुल्क शिक्षा कार्यान्वयन गरिसकेको छ । संविधानले माध्यमिकसम्म शिक्षा निशुल्क भनेकोमा दुहुँ गाउँपालिकाले ०७९ सालदेखि नै यो कार्यान्वनमा ल्याएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार