दार्चुला- व्याँस गाउँपालिका वडा नम्बर ४ मा रहेको चौसिला पहिरोको रोकथामको लागि बृक्षारोपण थालिएको छ । दशकाैं देखि पहिराे गएकाे ठाउँमा पालिकाले वृक्षारोपण थालेकाे हाे ।


वडा नम्बर ४ को मडगाउँ र भुलचौरा क्षेत्रमा पहिराे निरन्तर गइरहन्छ । पहिराेले निरन्तर कटान गर्न थालेपछि चौसिला पहिरो रोकथामको लागि बृक्षारोपण थालिएको गाउँपालिका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिए । उक्त पहिरोबाट मडगाउँ बस्तीका ६० घरपरिवार पूर्णरुपमा विस्तापित भइसकेका छन् ।

अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले भुलचौरा बस्तीका १५-२० परिवार विस्तापित हुने अवस्थामा पुगेको उपाध्यक्ष कुँवरकाे भनाइ छ ।

भुलचौरा बस्तीका पहिरोको जोखिममा रहेका स्थानीयहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ, उनले भने, पहिराेले बस्ती मात्रै हाेइन जमिनसमेत कटान गरेकाे छ ।

पहिरो रोकथामको लागि उक्त क्षेत्रमा तीन हजार बढी विरुवा रोपिएकाे छ । डिभिजन वन कार्यालय दार्चुला र भु-तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले निःशुल्क रुपमा बोट उपलब्ध गराएपछि वृक्षरोपण गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष विनोद कुँवरकाे नेतृत्वमा गाउँपालिकाका कर्मचारी र सम्पाल मावि सुन्सेराका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा बृक्षारोपण गरिएको छ ।