दार्चुला जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला पूर्ण खोप समन्वय समिति दार्चुलाले बुधबार एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क संकलन गरी खोप लगाइएको सुनिश्चित भएपछि घोषणा गरिएको बताउनुभयो ।
दार्चुला जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला तथा दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू (कस्यप) ले सबै बालबालिकाले अब देखि निरन्तर खोप पाएको सुनिश्चित भएको घोषणा गरे ।


जिल्लाका ९ ओटै स्थानीय तहलाई पालिकास्तरीय खोप सुनिश्चितता घोषणा यसअघि गरिएको थियो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टका अनुसार जिल्लामा ० देखि १५ महिनाका २ हजार १ सय ५० जना र १६ देखि ५९ महिनाका ६ हजार ६ सय ७७ जना बालबालिकालाई खोप दिइएको छ । यस्तै ६ जना सर्वेक्षणमा भेटेर ड्रप आउट बालबालिकालाई खोप दिइएको सुनश्चित भएपछि पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । यस घोषणाले नेपाल सरकारको पूर्ण खोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको छ ।
कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमार खत्री विष्ट, खोप समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य मीनराज जोशीले जिल्ला पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्लालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई नगदसहित सम्मान गरिएको थियो ।
