शारीरिक अपांगता भएका, ज्येष्ठ नागरिक, बस्न हिड्डुल गर्न नसक्ने, असक्त असहाय व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको समन्वयमा उनीहरुको घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले वैशाखयता मात्रै १९ जनालाई नागरिकता र २२ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ४ र ५ मा मात्रै १५ जनालाई नागरिकता र २१ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।
शैल्यशिखर नगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका, ज्येष्ठ नागरिक र अशक्तहरुलाई नागरिकता र राष्ट्रिय परिचयपत्र घरघरै पुगेर उपलब्ध गराएको साउँदले बताइन् ।
नेपालको संविधानले व्यवस्था गरे अनुरूप कोही पनि नागरिक नागरिकताबाट वञ्चित नहुन भनेर स्थानीय तहको समन्वयमा घरदैलो सेवा प्रवाह गर्दै आएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जनक डागाले आफुहरुको मागअनुसार प्रशासनले गाउँमै पुगेर असहाय, अशक्त अपांगता भएकाहरुलाई नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराएको बताए ।
वडाध्यक्ष डागाले भने, ‘शारीरिक रूपमा पूर्ण अपाङ्गता भएकाहरू प्रशासनसम्म पुग्न नसक्दा नागरिकताबाट वञ्चित हुनु परेको थियो,’ अब उहाँहरूले एकैपटक नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र पाउनुभएको छ । वषौदेखि नागरिकता नहुँदा विभिन्न सेवा लिनबाट वञ्चित भएकाहरुले राहत पाएका छन् ।
नागरिकता पाएपछि अपांगता भएका, अशक्त, ज्येष्ठ नागरिक खुसी भएका छन् । जल्ला प्रशासन कार्यालयले अघिल्लो वर्ष ९ जनालाई घरमै पुगेर नागरिता वितरण गरेको थियो ।