व्याँसबासी भन्छन्, ‘बजेटको सही सदुपयोग गरियोस्’

नेपालकै भूमि भएर व्याँस गाउँपालिका–१ छाङ्गरु जोड्ने गरी पैदलबाटो बनाउन जिल्लाबासी एकमत भएका छन् । व्याँस गाउँपालिकाले आइतबार खलंगामा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सबैले पैदलबाटो अपरिहार्य भएको बताएका हुन् ।
राष्ट्रिय स्वाभिमानको लागि पनि पैदलबाटो बनाउनै पर्छ भन्नेमा सबैले जोड दिएका छन् । राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, व्यासका जनप्रतिनिधि र व्याँस गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयले छाङ्गरु जोड्ने बाटो बनाउनुपर्नेमा जोड दिएका हुन् ।


पैदलबाटो निर्माणको लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ तर बाटो उस्तै हुन्छ । बाटो नबन्दा व्यासबासीले मात्र नभई जिल्लाबासीले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
‘सामरिक महत्व बोकेको छाङ्गरु–टिंकर जोड्न गोरेटोबाटो नहुनु लज्जाको विषय बनेको छ,’ पूर्वमन्त्री समेत रहेका गणेशसिह ठगुन्नाले भने, ‘योपटक जसरी पनि बाटो बनाउने गरी काम गर्नुपर्छ । मानिसले हिड्नेगरी काम गर्न सबै प्रतिबद्ध हौं ।’ बैशाखसम्म भए पनि बाटो खोल्ने गरी लागौं । विगतमा भएको कमजोरीलाई सुधार गर्दै लिनुपर्छ । नागरिकले आफ्नो देशबाट भएर हिड्न पाउनुपर्छ । यसमा सबैको सहयोग हुनुपर्नेमा उनले जोड दिए ।


यस्तै पूर्व प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले कडा चट्टान भएको क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्न सके मात्रै बाटो स्थायी रुपमा सञ्चालन गर्न सकिने बताए । विगतमा पनि बजेट आएर काम नभएको कुरालाई अव व्यासबासीले चिर्नुपर्छ ।
नेपाली काग्रेसका पार्टी सचिव पुलेन्द्रबहादुर कार्कीले सबैले एकीकृत रुपमा पैदलबाटो बनाउनुपर्नेमा जोड दिए । यो हामीसबैको लागि आवश्यक हो । राजनीतिक रुपमा समेत सबैको ऐक्यबद्धता जरुरी छ ।
पूर्व गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी विगतमा हरेक वर्ष भएका खर्चहरुमा कमीकमजोरी रहन गएको भन्दै सुधार गर्दै लिनुपर्नेमा जोड दिए । धेरै दुरुपयोग आफ्नो कार्यकालमा हुन दिइएन तर, भारतले सडक निर्माण गर्दा भएको कटानका कारण नियमित सुचारु हुन नसकेको हो ।
व्याँस गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकी सिनादेखि दुम्लीङसम्म नियमित ट्याक्टर सञ्चालन गर्नुपर्ने बताउँछन् । यहाँसम्म नियमित ट्याक्टर चल्नुपर्छ । कल्जु देखि बयलधारसम्मको जोखिम रहेको क्षेत्रमा बाटोको एलाइटमेन्ट हेरेर बाटो बनाइनुपर्छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पैदलबाटो खोल्ने विषयमा आफुले गर्न सकिने सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘कहिलेसम्म अरुको परनिर्भरता रहने, बैकिल्पक व्यवस्थापन गर्नतर्फ सबै लाग्नुपर्छ । यसको लागि आफुले खेल्ने भूमिका खेल्न आफु सधै तयार छु ।’


व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामीले सबैको सहयोग र प्रतिबद्धता अनुरुप यो वर्ष पैदल बाटो खोल्नतर्फ अग्रसर हुन सबैमा अपिल गरे । उनले भने, ‘यो विषयले राष्ट्रिय लज्जा बनाएको छ । पटकपटक पैदलबाटो भन्दै बजेट मागेका छौं, यो बजेट अन्तिम हुन सक्छ । बजेट आउने तर हिड्न भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था अब आउन दिनुहुन्न ।’
कार्यक्रमका सहभागिले बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय योगेश बोहराले भने, पहिले पनि पटक पटक करौडौं बजेट खर्च भएको छ । तर सदुपयोग भएको देखिएन् । तत्कालीन जिल्ला विकास समिति, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले बजेट खर्च गरेका छन् । तर परिणाम शून्य देखिएको छ । यो अवस्था अहिले अन्त्य गर्नु जरुरी छ ।
स्थानीय हरकसिह विष्टले बजेट सही सदुपयोग नभएकै कारण बाटो नबनेको भन्दै यस्तो अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । यो समग्र व्यासबासीको चिन्ताको विषय बनेको छ । अब सही कार्यान्वयन गरिनुपर्छ । नरेन्द्र भट्ट पनि व्यासको बाटो बनाउने विषयमा मिहिन ढंगले अघि बढ्न सुझाव दिन्छन् ।


छांगरु टिंकरका स्थानीय पनि अब काम गर्न सक्नेलाई मात्रै बजेट दिनुपर्ने बताएका छन् । बजेट खर्चको सही अनुगमन नगरिएकै कारण समस्या भएको हो । यो अन्तिम मौका हो, छांगरुका स्थानीयले भने, अहिले पनि बाटो बनाउन सक्दैनौ भने, नेताहरुले भाषण गर्नुको तुक छैन् ।

सम्बन्धित समाचार

ताजा समाचार