आर्थिक वर्ष ०७८÷०७९ मा खानेपानी मन्त्रालयको खानेपानी सेवा विस्तार तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत शैल्यशिखर नगरपालिका ७ र ८ वडाको लागि भन्दै ‘देवल बन्तोली लिफ्ट खानेपानी योजना’ रातो किताबमा प¥यो ।
पहिलो वर्ष कार्यक्रम सुचारु गर्न ३० लाख रुपैयाँ बजेट समेत विनियोजन गरियो । त्यसपछि निरन्तर रुपमा बजेट विनियोजन हुँदै आएको खानेपानी योजनामा १६ भदौ २०८१ मा दार्चुलाबाट प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरीलाई पत्रचार गर्दै योजनाको नाम नै संसोधन गर्न पत्र लेखेपछि अहिले यो विषयको विवाद सतहमा आएको हो ।

पूर्वमन्त्री समेत रहेका बडूले आफ्नो लेटर पेड प्रयोग गर्दै ०८१।०८२ को जलवायु अनुकुलित बृहत खानेपानी योजनाको क्र.सं. २५३ मा उल्लेख भएको ‘देवल बन्तोली लिफ्ट खानेपानी योजना’ शैल्यशिखर ७ को स्कीम नम्बर ५ हुनुपर्नेमा अन्यथा भएकोले संसोधन गर्न भनिएको छ । यो पत्र बाहिरिएसँगै शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ का वडा अध्यक्षको साथै नगर प्रमुखलेसमेत विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।


शैल्यशिखर नगरपालिकाले सोमबार खानेपानी मन्त्रालयलाई पत्रचार गर्दै ०७८÷०७९ बाटै ७ र ८ का पाँच हजार नागरिकलाई खानेपानी पु¥याउने योजनाअनुरुप सुचारु भएको खानेपानी योजनाको पाँच वटै स्किम कार्यान्वयनमा जानुपर्ने उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य बडूले चार वटा स्किम र वडा नम्बर ८ लाई योजनाबाट हटाएर योजना संसोधन गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् ।
नगर प्रमुख विजयसिह धामी, वडा नम्बर ७ का वडा अध्यक्ष पुष्पराज जोशी, वडा नम्बर ८ का वडा अध्यक्ष केशवदत्त जोशीले संयुक्त हस्ताक्षरित निवेदनमा तीन वर्ष अगाडि नै रातो किताबमा आएको योजनालाई संसोधन गरिएको आरोप लगाइएको छ । अहिलेको योजनाले वडा नम्बर ७ र ८ का जनता खानेपानीबाट वञ्चित हुने अवस्था आएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिइएको छ ।

तर दिलेन्द्र प्रसाद बडूको सचिवालयले एक दिन अघि नै विज्ञप्तिमार्फत खण्डन मात्रै होइन धम्कीपूर्ण अर्थमा यस अघि विनियोजन बजेट कहाँ खर्च भयो भनेर जवाफ मागेका छन् । जसमा भनिएको छ ‘डीपीआरसहित सम्बन्धित वडा अध्यक्षको सिफारिस र निर्णयको माइन्युटको प्रतिलिपि समेत राखि स्थानीयको मागको आधारमा स्किम नम्बर ५ छुट भएको भन्ने जानकारी आएपछि समावेश गर्न पत्रचार गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । तर विज्ञप्तिमा समावेश गर्न भनिएको उल्लेख गरिए पनि महाशाखालाई लेखेको पत्रमा भने संसोधन गर्न माग गरिएको छ । जुन कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ ।
नेकपा एमालेका नेता तथा शैल्यशिखरका स्थानीय गंगादत्त जोशी विज्ञप्तिको भाषा र महाशाखालाई लेखेको भाषाले प्रतिनिधिसभा सदस्य बडूको भूमिका दोहोरो भएको बताउँछन् । केहि सीमित व्यक्तिकोपछि लागेर ठूलो जनसंख्यालाई खानेपानीबाट वञ्चित गराउने दुस्प्रयास भएको छ, उनले भने । यसको लागि दुवै वडाका जनता कानुनी उपचारमा जान तयार भएका छन् ।

बडूको सचिवालयले भने योजना वा स्किम काट्ने वा अन्यत्र सार्ने काम नभएको स्पष्ट पार्दै योजनाको स्किमहरु आगामी आर्थिक वर्षमा प्राथमिकता अनुसार समावेश हुँदै जाने बताएको छ ।
देवल बन्तोली लिफ्ट खानेपानी शैल्यशिखर नगरपालिका वडा नम्बर ७ र ८ मा आर्थिक वर्ष २०७८÷०७९ मा रातो कितावमा बजेट परेदेखि चर्चा सुरु भएको हो । सो योजनामा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का तीन ओटा स्कीम १, २ र ३ तथा वडा नम्बर ७ का दुई ओटा स्कीम ४ र ५ सर्वे भएको थियो । सोहि अनुसार अहिले पनि स्किमको डीपीआर पूरा भएको छैन् । महाशाखाले अहिले पनि डीपिआरको विषयमा कमेन्ट लेखेर पठाएको बताइएको छ ।
खानेपानी महाशाखाका उपमहानिर्देशक रामचन्द्र काफ्ले आफुले योजनाको स्किम कटौतीको विषयमा जानकारी नभएको भन्दै रातो किताबमा प्रकाशित योजना काट्न नसकिने बताए । उनले भने, ‘यस्तो नहुनुपर्ने हो, समयमै हामीलाई ध्यानाकर्षण गराउनुभयो, हामी सर्तक भएका छौं ।’ उनले यो योजनाका सबै स्किमलाई अगाडि बढाउने आश्वासन दिए ।
समस्यामा जनता, नेताको राजनीतिक दाउँ
शैल्यशिखर नगरपालिकाका वडा नम्बर ७ र ८ का नागरिकले खानेपानीको समस्या भोग्न थालेको अहिले देखि होइन् । पञ्चायतकालदेखि अहिलेसम्म पनि नागरिकले खानेपानीको पहुँच पाउन सकेका छैन् ।
शैल्यशिखर नगरपालिकाको घोप्टे, देवस्थली र दोबाटाका बासिन्दाहरूले हिउँदयाममा खानेपानीको चर्को समस्या भोग्ने गरेका छन् । हिउँदमा घण्टौ हिडेर पानी बोक्नुपर्ने यहाँका महिलाहरुको बाध्यता छ, वडा नम्बर ८ का वडा अध्यक्ष केशवदत्त जोशीले भने, खानेपानीको समस्या समाधान गर्न सबै लाग्नुको साटो राजनीतिक रुपमा नेताहरुले चलखेल गरिदा नागरिक जहिल्यै समस्यामा पर्ने देखियो ।

आफुहरुले थोरै मात्रै बजेट आउँदा ठूलो योजना सञ्चालन गर्न नसकिने भन्दै लगातार दुई पटक आएको बजेट कार्यान्वयन गर्न सकेनौ, अध्यक्ष जोशीले सुनाए ।
पहिलेको योजनामा थप बजेट हुने गरी योजना ल्याउन भनिएको थियो, तर अहिले त एउटा वडा र चार वटा स्किम नै एलएमबीएस सिस्टमबाट हटेको जाननकारी पाएपछि विरोध गर्नुपरेको उनले बताए । जनतालाई पटकपटक खानेपानी पु¥याउँछौ भनेका थियौं तर खानेपानी बनाउनुको सट्टा ठूलो जनसंख्यालाई बञ्चित गराउने प्रयास भयो ।
शैल्यशिखरको दुवै ओडाका दर्जनौ बस्ति अहिले पनि खानेपानीको काकाकुल भोग्न बाध्य छन् । स्किम नम्बर १ को गोकुलेगाड सुपले, स्किम २ को इजाराफेर, बुङरा, मल्लो बंगासल्ला, गोगनाडी, स्किम नम्बर ३ को रातापानी पतेगैर, मल्लो लेक, झरकडा, वडा कार्यालय, स्वस्थ्य चौकी, विद्यालय पर्छन् । यसैगरी स्किम ४ अन्तर्गत भम्क बन्तोली,, दौगडा, तल्ली माम्चा, विराली पोखरी, स्किम ५ को डोबागाड, देथली, बुमा, देथली, खोल्डे, लगायतका वस्ती पर्छन् ।







