‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय योग दिवस दार्चुलामा भव्यरुपमा मनाइएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग गर्न उत्प्रेरित गर्न दिवस मनाइएको हो ।
खलंगा खुलामञ्चमा आयोजित योग दिवसमा पतञ्जलि योग समिति दार्चुलाका योग प्रशिक्षक हिरासिह धामी लगायत प्रशिक्षकहरुले प्रशिक्षण गरे । कार्यक्रममा महाकाली नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायतको उपस्थिति थियो ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने योग प्रशिक्षक हिरासिह धामीले बताए । शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उनले बताए ।
योगी बढे
एक दशक अघिसम्म दार्चुलामा योगप्रति खासै रुचि थिएन् । योगको सुरुवात मालिकार्जुन गाउँपालिका अध्यक्ष एवं दार्चुलाका मुख्य योग प्रशिक्षक हिरासिह धामीले सूरुवात गरे । भारतको हरिद्धारमा योग सिकेर दार्चुलामा योगको सुरुवात थाले ।
सुरुमा योग गर्न मान्छे आउदैन थिए, योग भनेपछि मान्छेले रुचि नदिने, यो पनि कसले गर्छर भन्ने गर्थे, धामी सुनाउँछन् । आफु भने निरन्तर कोठामा भए पनि योग गर्दै गए । आँखा कमजोरी भएकै कारण योगप्रति लागे । आँखामा सुधार हुँदै गयो । आफुले सिकेको सीप अरुलाई सिकाउन पाँच सात वर्ष नै लाग्यो ।
तर योग बारे निरन्तर प्रचारप्रसार र निरन्तरताका कारण अहिले जिल्लामा योगी बढेका छन् । सुरुमा दार्चुला विकास संगठनमा २।४ जना योग गर्न जम्मा हुन्थ्ये । तर समय बद्लिदै गयो, योगबारेमा बुझ्दै गएपछि अहिले योग गर्न मान्छेको भीड लागेको देख्दा खुसी लाग्छ, धामीले सुनाए ।
अहिले खलंगाकै तीन ठाउँमा योग कक्षा सञ्चालन हुन्छ । बिहान साढे ४ बजेबाटै योग गर्न मानिस जम्मा हुन्छ । दार्चुला विकास संगठन, बंगाबगड र छन्ना तिंकरी कन्या मावि विद्यालयमा योग कक्षा चल्ने गर्छ । छन्ना तिंकरी कन्या माविमा महिला पतञ्जली योग समितिले छुट्टै योग कक्षा चलाएको छ ।
योग खलंगामा मात्रै सीमित भएन् । ०७९ मा गाउँपालिका अध्यक्षमा हिरासिह धामी निर्वाचित भए पछि गाउँमा समेत योग शिक्षा पुगेको छ । गाउँपालिकाले विद्यालय तहमा योग शिक्षक भर्ना गरेर विद्यार्थीलाई विद्यालयमै योग शिक्षा दिन थालिएको छ । अहिले धामी भन्छन्, आफुले सुरुवात गरेको काम विस्तार भएको छ ।
योगप्रति सकारात्मक धारणाको विकास भएको छ । स्वस्थ्य नागरिक उत्पादन गर्न योग जरुरी छ । मानिसमा भइरहेको नेगेटिभ भाइवेरेसन हटाउन योग जरुरी हो । कयौं मानिस विरामी भएर अस्पताल गएर लाखौं खर्च गर्थे । निरन्तर औषधि सेवन गर्थे, धामीले सुनाए, तर अहिले उनीहरु निरन्तर योगमा जोडिएपछि निको भएका छन् । औषधि खान छोडेका छन् । बिहानैदेखि योगीहरु योगमा लागेको देख्दा अहिले सबैभन्दा खुसी हुनेमा मै पर्छु धामीले भने ।