राष्ट्रिय गौरबको महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकको निरीक्षण गर्न दुई जना मन्त्री दार्चुला आइपुगेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दार्चुला पुगेका हुन् ।
टाेलिमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल समेत आएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत ११ बजे व्याँस गाउँपालिका–४ सुनसेरा पुगेका छन् ।
उत्तर–दक्षिण जोड्ने सडकमा प्रयाप्त बजेट नहुँदा कामले गति लिन सकिरहेको छैन् । त्रीदेशीय सडकको रुपमा रहेको दार्चुला–टिंकर सडक सामारिक महत्व बोकेको सडक पनि हो । तर हरेक वर्ष थोरै बजेटले गर्दा लक्ष्य अनुसार सडकको प्रगति हुन सकिरहेको छैन् । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको महत्वपूर्ण सडक खण्ड हो तुसारपानी टिकर ७९ किलोमिटर ।
नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किमि छ । अहिलेसम्म सेनाले १३.५९ किमि मात्र ट्रयाक खुलाएको छ ।
यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ९ करोड रुपैयाँ बजेट मात्रै विनियोजन गरेको छ । उक्त रकमले १.८ किमि नयाँ ट्रयाक खोल्ने र १.२ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ ।