रक्षामन्त्री राई सहितको टोलि दार्चुला-टिंकर सडकको निरीक्षणमा आउदै

रक्षामन्त्री मानवीर राई सहितको टोली बुधबार दार्चुला–टिंकर सडकको निरीक्षणमा आउने भएका छन् । राष्ट्रिय गौरबका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडकको निरीक्षणमा आउन लागेका हुन् ।
टोलीमा रक्षा मन्त्री राईसँगै भौतिक पुर्वाधार तथा यतायात मन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल आउदैछन् । मन्त्रीसहितको टोली बिहान ९ बजे व्याँस गाउँपालिका–१ को सुनसेरा पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
टोलीले निर्माणाधीन दार्चुला–टिंकर सडकको निरीक्षण गर्ने तथा विकास निर्माण दल गणको निरीक्षण गर्ने बताइएको छ । नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो ।
दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किमि छ । अहिलेसम्म सेनाले १३.५९ किमि मात्र ट्रयाक खुलाएको छ ।
यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले ९ करोड रुपैयाँ बजेट मात्रै विनियोजन गरेको छ । उक्त रकमले १.८ किमि नयाँ ट्रयाक खोल्ने र १.२ किमि सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । ‘बजेट बढी भएको भए त्यहीअनुसार लक्ष्य निर्धारण गरेर ट्रयाक खोलिन्थ्यो,’ सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले भने, ‘थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न सकिएको छैन ।’
यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किमि छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८÷८९ भित्र उक्त खण्डको ट्रयाक खोल्ने काम सकिसक्नुपर्नेछ ।
यो महत्वपूर्ण सडक भए पनि पर्याप्त बजेट अभावमा कामको गति बढाउन नसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी केसीले बताउँछन । ‘यो सडकको दूरी लामो छ, यही गतिमा सडक बनाउने हो भने सक्नलाई वर्षौं लाग्छ,’ उनले भने, ‘त्यसैले छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनुपर्छ, त्यो हुन सकेको छैन ।’
‘मागअनुसार बजेट नहुँदा नाका जोड्ने सडकमा समग्र रूपमा प्रगति कम छ, जति बजेट उपलब्ध हुन्छ, त्यहीअनुसार काम र प्रगति हुने हो,’ प्रवक्ता केसीले भने, ‘निर्माण गर्न सक्ने क्षमताअनुसार बजेट उपलब्ध हुन सके लक्ष्यभन्दा धेरै काम गर्न सकिन्थ्यो ।’ पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उनको दाबी छ ।
यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङ्गरु, टिंकर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित समाचार

ताजा समाचार