दार्चुलाको लेकम क्षेत्र रात्रिकालिन जात्रामय छ । विभिन्न धार्मिक शक्ति पीठहरुमा पूजाआजा गर्ने तथा दमाहा प्रदर्शन भइरहेको छ । आइतबार राति लेकम गाउँपालिका–५ जयपुर जात्रा सकिएको छ ।
जिल्लाकै सबैभन्दा बढि भक्तजनको भीड हुने मालिकार्जुन जात्रा कात्तिक २९ गते बिहीबार हुँदैछ । हजारौं भक्तजनहरु आउने जात्रालाई सबैले चासो दिएका हुन्छन् । गत वर्ष पूर्ण रुपमा मदिरा निषेध नभए पनि जात्रा शान्तिपूर्ण भएको थियो । त्यो जात्रालाई अहिलेसम्मकै उत्कृष्ट शान्तिपूर्ण जात्रा भनिएको छ ।
गत वर्षकै निरन्तरता दिन यो वर्ष पनि सुरक्षाकर्मीले विशेष चासो दिएका छन् । स्थानीय जात्रा व्यवस्थापन समितिले समेत मदिरा निषेध र जुवातास नियन्त्रणमा कडाई गर्न माग गरेपछि प्रशासनले सुरक्षा व्यवस्थापनमा चासो दिएको हो ।
जिल्ला सुरक्षा समितिले कात्तिक २२ गते नै जात्रा लाग्ने ठाउँमा जुवातास र मदिरा निषेध भनेको छ । मालिकार्जुन गाउँपालिकाले समेत मालिकार्जुन गाउँपालिकालाई नै यसअघि नै मदिरा निषेध पालिका बनाएको छ ।
धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण पालिकाले मालिकार्जुनमा मदिरा निषेध गरेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । अहिले जात्रालाई शान्ति सुरक्षा र धार्मिक आस्थावानहरुको लागि सहज होस् भन्न मदिरा विक्री वितरणमा झन कडाई गर्न प्रशासनसँग माग गरिएको उनले बताए ।
जात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मालिकार्जुनमा खटाउने तयारी भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । डिएसपी प्रकाश दाहाल भन्छन्, जात्रा अवधिभर सुरक्षाको ध्यान मालिकार्जुनमा हुनेछ ।
यसैबीच मालिकार्जुन गाउँपालिकाले जात्राको अवसरमा दुई दिन स्थानीय विदा दिएको छ । पालिकाले कात्तिक २८ र २९ गते लाग्ने शिखर पुजनजात्रा र मालिकार्जुन धार्मिक जात्राको अवसरमा स्थानीय सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए ।