लेकममा तिहार नजिकिएसँगै वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण !

लेकम गाउँपालिकाले तिहार नजिकिएसँगै वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकसम्म पहुँच नभएका वडामा पुगेर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
गाउँपालिकाले लक्ष्मी सनराइज बैंक सँगको समन्वयमा पाँच वटा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर प्रकाशराज विष्टले जानकारी दिए । अहिले बैंक वडा नम्बर ५ चौपातामा मात्रै छ ।
सडक नहुँदा लाभग्राहीले बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने अवस्था आएपछि वडामै पुगेर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताइन् । गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र बैंक कर्मचारी गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, क र ख बर्गका अपाङ्गगता भएका व्यक्ति, र दलित बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता वडामै वितरण गरेको उपाध्यक्ष जोशीले बताइन् ।
गाउँपालिकाका एमआइएस अपरेटर विष्टका अनुसार वडा नम्बर १ मा १५० जना, वडा नम्बर २ मा २०३ जना, वडा नम्बर ३ मा १३८ जना, वडा नम्बर ४ मा १४३ जना, र वडा नम्बर ६ मा १२४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
यस्तै गाउँपालिकाले ४४ जना एकल पुरुषलाई समेत मासिक ५ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । गत वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा उपलब्ध गराउन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताए ।
लेकम गाउँपालिका–१ का मानबहादुर बोहराले आफुले पाउनुपर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधि, कर्मचारी र बैंकका प्रतिनिधि आएर वडामै वितरण गरेपछि खुसी व्यक्त गरे । उनले भने, ‘भत्ता लिन बैंकसम्म जान सक्ने अवस्था छैन । वडामै पुगेपछि हामीलाई पनि स्थानीय सरकारले राहत दिएको अनुभूति भएको छ ।’
वडाबाटै भत्ता वितरण गरिएपछि चार पाँच घण्टा हिडेर बैंक सम्म पुग्नुपर्ने बाध्यता हटेको लेकम गाउँपालिका–२ का जानकी जोशीले बताइन् । बुढापाकालाई बैंक पुग्न निकै झण्जट थियो, पालिकाले वडामै वितरण गर्ने व्यवस्थापन मिलाएर हामीले सहज भएको छ उनले भनिन् ।
लेकमका अधिकांश वडाका वस्ती निकै टाढा छन् । वस्तीबाट वडा कार्यालयसम्मै पुग्न पनि २।३ घण्टा हिड्नुपर्ने अवस्था छ, लेकम गाउँपालिका–३ का वडा अध्यक्ष सुरेश सिह थापाले भने, ‘ज्येष्ठ नागरिकलाई झन बैंक सम्म गएर सामाजिक सुरक्षा भत्ता ल्याउनु भन्दा झन पीडा हुने भएकोले वडामै वितरण गर्ने गरिएको छ ।’

सम्बन्धित समाचार

ताजा समाचार